अस्ट्रेलियामा नयाँ प्रधानमन्त्रीमा मोर्रिसन

0
Shares

सिड्नी, (एजेन्सी)
पार्टी नेतृत्वको प्रतिस्पर्धाको क्रममा माल्कोम टर्नबुललाई प्रतिद्वन्द्वीहरूले बाध्य बनाई बाहिर पारेपछि शुक्रबार स्कट मोर्रिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री बनेका छन्। टर्नबुलले पार्टीको आन्तरिक मतदानलाई कन्जरभेटिभ विधायकको आन्दोलनको संज्ञा दिएका छन्।
पार्टीका कोषाध्यक्ष मोर्रिसनले पूर्वगृहमन्त्री पिटर ड्युटनविरुद्धको चुनावी प्रतिस्पर्धामा ४५–४० मतले सफलता हासिल गरेका छन्। ड्युटन टर्नबुलका प्रमुख आलोचकको रुपमा देखिएका थिए।

एक दशकमा आफ्नै सहकर्मीहरूबाट अपदस्थ हुने टर्नबुल चौथो अस्ट्रेलियाली प्रधानमन्त्री बनेका छन्। मोर्रिसनले भनेका छन्– ‘यस्तो महान राष्ट्रको नेता बन्न पाउनु ठूलो सौभाग्यको कुरा हो। म अस्ट्रेलियालाई माया गर्छु। म अस्ट्रेलियालीलाई माया गर्छु।’ सत्तारुढ पार्टी हालै सम्पन्न उपनिर्वाचनमा पराजय भएकाले अहिले सरकार सशंकित अवस्थामा रहेको छ।

गतसाता उर्जा नीतिलाई लिएर उठेको एक विवादका कारण नरमपन्थी टर्नबुल र उनको कन्जरभेटिभ पार्टीबीचको तनाव चर्केको हो। मंगलबार नै ड्युटनले टर्नबुललाई असफल चुनौती दिएका थिए। तर ड्युटनको झिनो मतान्तरको कारण भएको पराजय अर्को असहमतिको कारण बन्यो।
टर्नबुलले प्रमुख समर्थकहरू गुमाएपछि पार्टीनेता बनेलगत्तै प्रधानमन्त्री बन्ने यस चुनावी दौडमा मोर्रिसन प्रवेश गरेका हुन्। विधायकहरूको बहुमतले नेतृत्व परिवर्तनका लागि सहमति जनाएपछि टर्नबुलले राजिनामा दिएका हुन्। एक सिटको मात्र बहुमत भएको सरकारका नयाँ प्रधानमन्त्रीले यथशीघ्र चाँडो अर्को चुनाव आह्वान गर्नुपर्ने स्थिति रहेको छ।

तर शुक्रबार शपथग्रहण गरेका मोर्रिसनले चाँडै नै चुनावमा जाने अहिलेलाई कुनै योजना नरहेको पत्रकारलाई बताएका छन्। उनले आगामी सातासम्ममा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भइसक्ने बताएका छन्।