ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं र ललितपुर महानगरपालिकासहित २२ स्थानीय निकायको फोहोर व्यवस्थापन पूर्णरूपमा सुचारु हुन सकेको छैन।
लगातार वर्षा र सिसडोल ल्यान्डफिल साइटको हिलाम्य बाटोका कारण पूर्णमात्रामा फोहोर व्यवस्थापन हुन सकेको छैन। ल्यान्डफिल साइट व्यवस्थापन गर्ने विषयमा अन्य स्थानीय निकायले चासो नदिँदा समस्या बढेको काठमाडौं महानगरपालिकाले दाबी गरेको छ।
‘हामी एक्लैले कति चासो दिने? दैनिक फोहोर व्यवस्थापन गर्न लागेको खर्च पनि हामीले नै बेहोर्ने, फोहोर व्यवस्थापन हुन नसक्दाको दोष पनि हाम्रै हुने?’ –फोहोर व्यवस्थापन अध्ययन समितिका संयोजक एवं कामपाका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाले भन्नुभयो।
कामपाले अहिले वर्षात्को समयमा सिसडोल ल्यान्डफिल साइटको फोहोरमाथिको बाटो निर्माणका लागि दैनिक १ लाख रुपियाँ खर्च गर्दै आएको छ। यो खर्च काठमाडौं महानगरपालिकाले मात्रै बेहोर्दै आएको छ।
उपत्यकाको कुनै पनि स्थानीय निकायको फोहोर व्यवस्थापन हुन नसकेपछि त्यसको सम्पूर्ण दोष काठमाडौं महानगरमाथि थोपर्ने गरेको गुनोसो गर्दै उहाँले भन्नुभयो– ‘अब सबै स्थानीय तहले फोहोर व्यवस्थापन गर्दा लाग्ने सम्पूर्ण हिस्सा बराबरी बेहोर्नुपर्ने अवस्था आएको छ।’ फोहोर व्यवस्थापनमा समस्या आए सरकारले कामपालाई दोष दिने गरेको छ।
दुई महानगरसहित ६ जिल्लाका २२ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्यान्डफिल साइटको व्यस्थापनको जिम्मा सबै स्थानीय तहले लिनुपर्ने दाबी गर्दै सहसचिव मरहठ्ठाले कामपा एक्लैले समस्या समाधान गर्न नसक्ने बताउनुभयो।
उहाँले भन्नुभयो– ‘कामपाको मात्र फोहोर व्यवस्थापन गर्दा सिसडोलमा कुनै समस्या हुँदैन तर अन्य स्थानीय तहको फोहोर व्यवस्थापन गर्दा समस्या भएको हो। फोहोरका मात्रा बढी भएको कारण समस्या भएको हो। अब सबै स्थानीय तहले समान हिस्सा बेहोर्ने गरी समस्या समाधन नगरे सबै फोहोर व्यवस्थापन गर्न गम्भीर समस्या पर्ने कामपाको भनाइ छ।
कामपा एक्लैले ल्यान्डफिल साइट र फोहोर व्यवस्थापन गर्न वार्षिक झन्डै ५० करोड खर्च गर्ने गरेको छ। कामपाबाहेक अन्य स्थानीय तहले फोहोर व्यवस्थापन गर्न रकम छुट्याएका छैनन्। समितिले सबैको समान हिस्सा हुनेगरी फोहोर व्यवस्थापन गर्ने संयोजक मरहठ्ठाको भनाइ छ।
कामपाले अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन गठन गरेको समितिले अध्ययन शुरू गरेको छ। कामपा र ललितपुर महानगरपालिकासहित ५ सदस्यीय टोली आज शनिबार सिसडोल ल्यान्डफिल साइटको अध्ययन गर्न जाने भएको छ। समितिले वैकल्पिक ल्यान्डफिल साइटको खोजी गर्नेछ। ‘३÷४ ठाउँ देखेका छौं, सबै क्षेत्रको अध्ययन गर्ने छौं।’ –संयोजक मरहठ्ठाले भन्नुभयो।
समितिले फोहोर व्यवस्थापनमा नगरपालिकाहरूको लागत सहभागिता शिफारिस, ल्यान्डफिल साइटको दीर्घकालीन समाधान वर्षौसम्म निर्माण हुन नसकेको बञ्चरे डाँडाको पूर्वाधार कसको सहभागितामा कसरी निर्माण सम्पन्न गर्न सकिन्छ, भन्ने विषयमा शिफारिस गर्ने भएको छ।
ल्याण्डफिल साइटमा देखिएको समस्याका कारण हाल करिब ४ सय टन मात्रै फोहोर व्यवस्थापन हुने गरेको छ। कामपासहित सबै स्थानीय तहको दैनिक करिब एक हजार टन फोहोर संकलन हुने गरेको छ। जापान सहयोग नियोग (जाईका) को सहयोगमा २०६२ सालमा निर्माण गरेको सिसडोल ल्यान्डफिल साइटको क्षमता अन्तिम अवस्थामा पुगेको छ। २ वर्षको क्षमता रहने गरी निर्माण गरेको सो ल्याण्डफिल साइटको विकल्पका रूपमा रहेको वञ्चरेडाडाको ल्यान्डफिल साइट निर्माण अझै हुन सकेको छैन।
त्यसैले वञ्चरे डाडाको काम शुरु नभएसम्म वैकल्पिक ल्यान्डफिल साइटको खोजी गरिरहेका छांै –संयोजक मरहठ्ठाले बताउनुभयो। एक्लैले समस्या समाधान गर्न सकिदैन सबै स्थानीय तहको सक्रिय सहभागिताकालागि आग्रह गरेका छौं उहाँले बताउनुभयो।











प्रतिक्रिया