काठमाडौं, (नेस)
पार्टी विधान संशोधन मस्यौदा समितिमा जिल्ला सभापतिको प्रतिनिधित्व हुनुपर्ने विषयमा किचलो निस्किएपछि शुक्रबार बिहानै बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी साँझ स्थगित भएको छ। बैठक आज शनिबार ११ बजेका लागि पुनः बोलाइएको छ।
अघिल्लो दिन सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन गर्नुभएको ११ सदस्यीय समितिमा जिल्ला सभापतिका तर्फबाट प्रतिनिधित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले किचलो झिकेको स्रोतले बताएको छ। सभापति देउवाले बिहीबार गठन गर्नुभएको विधान मस्यौदा समितिलाई अनुमोदन गर्ने, महासमिति बैठकको मिति र स्थान तय गर्ने, महासमिति बैठकको तयारीका बारेमा आवश्यक निर्णय गर्नेलगायतका विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक आ≈वान गरिएको थियो।
वधान मस्यौदा समितिमा जिल्ला सभापतिको प्रतिनिधित्वको माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले किचलो झिकेको संस्थापन पक्षको आरोप
शुक्रबार बैठक बस्नका लागि सभापति देउवालगायत शीर्ष नेतासहित केन्द्रीय सदस्यहरू समयमै पार्टी कार्यालय सानेपा आइपुगे पनि वरिष्ठ नेता पौडेल भने दिउँसो दुई बजेतिर मात्र पार्टी कार्यालयमा आएको एक केन्द्रीय सदस्यले बताए। केन्द्रीय समितिको बैठक छोडेर वरिष्ठ नेता पौडेल गुटको बैठकमा सहभागी भएको भन्दै केही नेताहरूले आक्रोशसमेत पोखेका थिए। ‘वरिष्ठ नेता पौडेलले अघिल्लो दिन पार्टी पदाधिकारी बैठकमा विधान मस्यौदा समिति गठन गर्न संयोजक तथा सदस्यका बारेमा सहमति गरेका थिए’, एक पदाधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘अहिले आएर मस्यौदा समितिमा जिल्ला सभापतिहरूको पनि प्रतिनिधित्व हुनुपर्छ भनेर किचलो झिकेका छन्।’
हालै हेटौंडामा सम्पन्न जिल्ला सभापतिको भेलाले जिल्ला सभापतिको समेत प्रतिनिधित्व हुने गरी विधान मस्यौदा समिति गठन गर्न आग्रह गरेको थियो। कांग्रेस केन्द्रीय समितिको बैठक आज शनिबार ११ बजे बस्ने सहमतिका साथ स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ।











प्रतिक्रिया