कञ्चनपुरमा गोली चल्यो, एकको मृत्यु, दर्जन घाइते, अवस्था अराजक बन्दै, अनिश्चितकालका लागि कफ्र्यु जारी

0
Shares

विनोदसिंह विष्ट
हरकसिंह धामी, कञ्चनपुर
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्याराको खोजीका लागि आन्दोलनमा उत्रिएका स्थानीयमाथि शुक्रबार साँझ प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन्।

कञ्चनपुर घटनालाई कांग्रेसले अनावश्यकरूपमा उचालेको भन्दै नेकपाका नेता भीम रावलले दिएको अभिव्यक्तिको विरोधमा नेपाल विद्यार्थी संघले निकालेको जुलुसमा प्रहरीले गोली चलाउँदा १४ वर्षीय बालक सन्नी खुनाको मृत्यु भएको थियो।

जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेको नेविसंघको टोलीले जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गरेर उत्तेजना फैलाउन खोजेपछि प्रहरीले फायरिङ गर्दा बालकको मृत्यु भएको स्थानीय प्रशासनले दाबी गरेको छ।

उक्त घटनामा घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई भारत पठाउने तयारी भइरहेको प्रहरीले जनारकारी दिएको छ।

घाइते हुनेहरूमा डम्बर खत्री, कवीन्द्र विक, ईश्वर जोशी, वीरेन्द्र नागरी, युवराज भट्ट, गोरखबहादुर रेउले, किशोर धामी, तुलाराम उपाध्याय, घनश्याम पन्त,
चेतन भट्ट, दामोदर खत्री, ओमकार जोशी, सुरेशप्रकाश चटौत र शत्रुघ्न सुवेदी छन्। घाइते भएकामध्ये मनोज खड्काको दायाँ कञ्चटमा गोली गालेको छ भने उमेश देउवाको बायाँ खुट्टामा गोली लागेको छ।

हत्याको विरोधमा बिहीबार आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए। स्थितिले उग्ररूप लिएपछि सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गरेपछि मत्थर भएको आन्दोलन शुक्रबार साँझबाट एक्कासि चर्किएको थियो। सरकारले बलात्कारपछि हत्या घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको थियो। टोली शुक्रबार नै कञ्चनपुर पुगेको थियो। छानबिन समितिले काम पनि शुरू गरिसकेको छ।

बलात्कारपछि हत्या गरिएकी पन्तको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले २५ दिनपछि दिलिपसिंह विष्टलाई सार्वजनिक गरेपछि आन्दोलनले झन् उग्ररूप लिएको थियो। मानसिक सन्तुलन गुमाएको मान्छेलाई हत्याको आरोपीका रूपमा उभ्याएको भन्दै स्थानीयले सरकारको तीव्र आलोचना गरेका थिए।

स्थिति तनावग्रस्त बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्युसमेत जारी गरेको थियो। स्थिति सहज बन्दै गएको भन्दै शुक्रबार बिहानबाट कफ्र्युसमेत हटाइएको थियो। संयोजक मैनाली नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको केही समयपछि गोली चलेको थियो।

यता कञ्चनपुर घटनापछि कैलाली र कञ्चनपुरका सांसदहरूले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन्। उनीहरूले घटना अराजक बन्दै गएको भन्दै स्थितिलाई नियन्त्रण गर्न तत्कालै सबै उपाय अवलम्बन गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको कञ्चनपुरका सांसद डा. दीपकप्रकाश भट्टले जानकारी दिनुभयो। अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल फोन गरी उक्त घटनाबारे गम्भीर भएर अनुसन्धान गर्न र तत्काल स्थितिलाई नियन्त्रणमा लिनसमेत आग्रह गर्नुभएको बताइएको छ।

कञ्चनपुरको अवस्था नाजुक बन्दै गएपछि स्थानीय प्रशासनले शुक्रबार साँझबाटै अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरेको छ।