बाल क्लबले रोक्यो बाल विवाह

0
Shares

सरोज यादव, विराटनगर
मोरङको लेटाङ–२ को लक्ष्मी माध्यमिक विद्यालयमा रहेको बाल क्लबले बिहे गर्न तयारी गर्दै गरेको अवस्थामा रहेको बाल विवाहलाई रोकेको छ । लक्ष्मी बाल प्रकृति क्लबले विद्यालयमा अध्ययनरत १५ बर्षीय बालिकालाई बिहे गर्नबाट रोकेको हो ।

बिहे गर्नको लागि तयार भएका सोही वडाको ठाडा टोलमा घर भई लक्ष्मी माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १५ वर्षीय बालिका र झापा चारपाने घर भएका २८ वर्षीय किशोरबीच हुन लागेको बिहेलाई बाल क्लबले विफल बनाएको हो ।

आफ्नै विद्यालयमा अध्ययनरत साथीको बिहे गर्ने उमेर नै नपुगी बिहे हुन लागेको थाहा पाएपछि क्लबका पदाधिकारीहरुले घरमा नै गएर बिहे रोकेका हुन् ।सुरुमा बिहे रोक्न क्लबले गरेको आग्रहलाई केटा र केटी पक्षले आलटाल गरेपछि क्लबले इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेको थियो । खबर पाउनेबित्तिकै केटीको घरमा पुगेको प्रहरीको टोलीले बिहे गर्न तयारी गरिरहेकोे अबस्थाबाट केटी र केटा पक्षलाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याएको थियो ।

करिब १० जनाको संख्यामा बिहे गर्ने मनसायका साथ आएको केटा पक्ष र केटीका अभिभावकहरुलाई प्रहरीले कार्यालयमा लगी सोधपुछ गरेको थियो । प्रहरी कार्यालयमा केटा र केटी पक्षले २० वर्ष भन्दा कम उमेरमा बिहे हुँदैन भन्ने कुरा आफूहरुलाई थाहा नभएको बताएका थिए ।

सरोकारवाला निकायहरुले बाल बिबाह गर्न नहुने र गरेमा कडाभन्दा कडा कारबाही हुने बताएपछि केटीकी आमाले बिहेको तयारी गर्नुभन्दा पूर्व नै यस्तो कुरा आएको भए ज्यादै राम्रो हुने बताइन् ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाले बाल बिहेबाट बिहे गर्ने स्वयम् ब्यक्ति तथा परिवारको भविश्य विग्रने भन्दै यस्तो कार्य आफ्नो परिवारले पनि नगर्ने र अरुलाई पनि नगर्न सल्लाह दिनुपर्ने बताएका थिए । लक्ष्मी बाल प्रकृति क्लबका अध्यक्ष गौरब खतिवडाले सानै उमेरका बिहे गर्नाले बालबालिकाको जीवन कष्टकर बन्ने भएकोले यसको अन्त्य गर्नुपर्न बताए ।

बाल क्लबले गत वर्षदेखि बाल बिहे र दुव्र्यसनका घटनाहरुलाई विद्यालय क्षेत्रमा शून्य बनाउने गरी काम गरिरहेको बताए ।प्रहरी कार्यालयमा केटा र केटी पक्षका अभिभावकले उमेर पुगेपछि मात्रै बिहे गरीदिने भन्दै उनीहरूलाई आ–आफ्नो अभिभावकले जिम्मा लिएर लैजाने र उमेर पुगेपछि मात्रै बिहे गरिदिने प्रस्ताव राखेका थिए । प्रहरी कार्यालयमा भएको छलफलपछि प्रहरीले केटा र केटी दुवैलाई आ–आफ्नो अभिभावकलाई कागज गराएर जिम्मा लगाएको थियो ।