दार्चुलाका ४ जनामा डेंगु भेट्टीयो

0
Shares

दार्चुला, (नेस)
पछिल्लो समय तराईका जिल्लाहरुमा मात्रै देखा पर्ने विभिन्न खालका रोगहरु पहाडी जिल्लाहरुमा समेत देखा पर्न थालेका छन् । जलवायु परिवर्तन संगै पहाड चढेका लामखुट्टेका कारण तराईका जिल्लाहरुमा देखा पर्ने रोग पहाडी जिल्लाहरुमा देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

डेंगु रोग सार्ने इडिस एजेप्टाई लामखुट्टे तराईबाट पहाड चढे पछि दार्चुला जिल्लामा ४ जना डेंगु संक्रमित भेट्टीएका छन् । जिल्लाको महाकाली नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकामा गरी ४ जनामा डेंगुको जिवाणु भेट्टीएको जिल्ला अस्पताल दार्चुलाका निमित्त डा. धर्मानन्द जोशीले जानकारी दिए । डेंगु संक्रमित चारै जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी रेफर गरिएको उनले जानकारी दिए ।

केही वर्षअघि सम्म समथर भु–भागमा मात्र देखिने दिउँसो टोक्ने यो लामखुट्टे हाल उच्च पहाडी क्षेत्र ताक्दै छ । हाल पहाडी क्षेत्रमा समेत गर्मी बढ्दै गएको भन्दै डा. जोशीले लामखुट्टेको पहाड यात्रा पछाडि जलवायु परिवर्तन कारण रहेको बताउनु भयो । यो लामखुट्टेको फुल सुक्खामा समेत चार सय दिन सम्म बाँच्न सक्ने उनले बताए ।

डेंगु रोगको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्न, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने उनले बताए ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्ने उहाको सुझाव छ । डेंगु रोग सार्ने लामखुट्टेले दिउँसो मात्रै टोक्ने हुँदा कोठा बाहिर बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनु उहाले सबैमा आग्रह गर्नु भएको छ ।