महिला कारागारमा पुरुषमात्र, महिला बन्दीका लागि चितवन धाउँदै प्रहरी

0
Shares

हेटौंडा,(नेस) । मकवानपुरमा हालसम्म महिलालाई कैद वा बन्दी गर्न कारागार छैन । यसो हुँदा मकवानपुर प्रहरी मात्र होइन, चितवन कारागारले समेत समस्या खेप्नुपरेको छ ।

अभियुक्त वा कैद तोकिएका महिलालाई जिम्मा लगाउन मकवानपुर प्रहरीलाई चितवन धाउँदै हैरान त छँदैछ, चितवन कारागारमा समेत क्षमता भन्दा बढी कैदी हँुदा व्यवस्थापनमा समस्या परेको छ ।

१५ जना क्षमता भएको चितवन महिला कारागारमा हाल ६२ महिला कैदी रहेको चितवन कारागारले जनाएको छ । ती कैदीमध्ये २५ जना मकवानपुर जिल्ला प्रहरी कार्यालबाट पठाइएको कारागारले जानकारी दिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकामा महिलाका लागि निर्मित कारागार छ, तर पुरुष बन्दीका लागिमात्र प्रयोग गरिएको छ ।

्भीमफेदी कारागारमा दुई वटा ब्लक निर्माण गरिएको छ । ‘क’ ब्लकमा चार सय ५ जना र ‘ख’ ब्लकमा चार सय ३६ कैदी छन् । २ हजार १ सय ५० जना अट्ने क्षमताको कारागार निर्माण गरिएको छ । तर, हाल आठ सय ३८ जना कैदी÷थुनुवामा छन् । ९७ जना थुनुवा र सात सय ४१ जना कैदी रहेको कारागारले जानकारी दिएको छ ।

क्षमता भन्दा निकै कम कैदी÷बन्दी भएकाले कारागार खालीजस्तै देखिन्छ । ठाउँ हँुदा पनि मकवानपुर प्रहरीलाई महिला कैदी चितवन नै पु¥याउनुपर्ने वाध्यता छ । २०२८ सालमा स्थापना भएको कारागारमा हालसम्म पनि महिलाका लागि व्यवस्था हुन सकेको छैन ।
आर्थिक वर्ष २०७२÷०७३ मा १२ जना, आव २०७३/०७४ मा १५ जना र आव २०७४÷०७५ मा १७ जना र चालु आर्थिक वर्षको हालसम्म ४ जना महिला कैदीलाई चितवन पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक वुद्धिराज गुरुङका अनुसार महिला बन्दीलाई पटक÷पटक अदालत उपस्थित गराउनुपर्ने हुन्छ । तर, यहाँ महिला बन्दीगृह नहुँदा समस्या पर्नेगरेको प्रउ गुरुङले बताउनुभयो । करिब ७६ किमी लामो बाटो हँुदै कैदीलाई ल्याउनु÷लैजानुपर्दा सुरक्षा जोखिम र आर्थिक समस्या पर्ने प्रउ गुरुङले गुनासो गर्नुभयो ।