विनोद सिंह विष्ट, बैतडी ।
विगत केहि वर्षअगाडीबाट खस्न थालेको पहिरोले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा यो बर्ष पनि क्षति गर्न थालेको छ ।
वि स २०१८ सालमा खसेको पहिराले बर्षेनी क्षति गर्दै आएको स्थानीय रामदत्त जोशीले बताए । डोल पहिरोका कारण अहिले सम्म ९ जनाको ज्यान गईसकेको छ भने सैयौं रोपनी खेतीयोग्य जमीन बगिसकेको छ । पहिरोका कारण करीब १५० घरपरिवार जोखिममा परेका छन् ।
पहिरोले बस्तीका पुरै घर बांगा भईसकेका स्थानीय लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । भित्री कमेरोयुक्त माटो भएका कारण जमीन भासिदै गएको र यसले घरहरु बांगा हुँदै गएका छन् उहाँले भन्नुभयो “पहिरोका कारण पुरै गाउँ विस्थापित हुने अवस्थामा छ ,लगातारको बर्षाले गाउँ नै पहिरोको जोखिममा रहेको छ ।”डोल बस्तीमा रहेका अधिकांस घरहरु बांगा भएका छन् । बस्ती तलतिरबाट जमीन भासिएपछि जोखिम बढेको हो ।
तत्कालिन राजा विरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुम प्रवांगी दिएको भएपनि राजनीतिक खिचातानीका कारण बस्ती स्थानान्तरण हुन नसकेको स्थानीय बीरसिंह भण्डारीले बताए । पहिरोले प्रत्येक बर्ष खानेपानी, पानी घट्ट लगायतका संरचनाहरु बगाउँदै आएको छ । उनले भने“ अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी रहेको छ ।”
लगातारको बर्षाका कारण स्थानीय लोगसिंह भाटको घर तलतिर पहिरो खसेकाले घर नै जोखिममा परेको छ । घरको तलतिर पहिरोले सबै आँगन बगाएपछि अहिले भाट परिवारलाई समस्या भएको छ ।
पहिरोले धेरैको उठीबास गरिसकेको छ । आर्थिक अवस्था राम्रा भएकाहरुले बसाइसराई गरिसकेका छन् भने आर्थिक अवस्था कमजोर भएकाहरु जोखिममा बस्न बाध्य भएका स्थानिय नैन सिंह गोयलाले जानकारी दिए । उनले भने“ पहिलादेखि पहिरोको जोखिममा रहेको बस्ती बर्षाका कारण झन प्रभावित भएको छ ।”
जमीनभित्र कमेरोयुक्त माटो भएकाले बर्षेनी पहिरोले घरखेत बगाउँदै आएको छ । पहिरोका कारण पुरै बस्ती नै जोखिममा रहेको छ । सो ठाउँका १५ बढी परिवारले बसाइसराइ समेत गरिसकेका छन् ।











प्रतिक्रिया