किमसँग पुन भेट्ने चाहना विपरित आईएईएको प्रतिवेदन


वासिङटन (एजेन्सी)
उत्तर कोरियाले अहिलेसम्म परमाणु कार्यक्रममाथि रोक लगाएको अहिलेसम्म कुनै संकेत नदेखिएको संयुक्त राष्ट्र संघको परमाणु कार्यक्रम निगरानी संस्थाले जनाएको छ ।

इन्टरनेसनल अटोमिक इनर्जी एजेन्सी (आईएईए)ले जारी गरेको प्रतिवेदनमा उत्तर कोरियाको परमाणु कार्यक्रम जारी रहनु अत्यन्त चिन्ताको विषय भएको उल्लेख गरिएको छ ।

आईएईएको उक्त प्रतिवेदन विपरित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आफनो वार्ता सफल भएको ठहर्याउन उत्तर कोरियाली नेता किम जोङ उनसँग पुन भेटवार्ता गर्ने संकेत दिएरहेका छन् ।

आईएईएको यो प्रतिवेदनले उत्तर कोरियासँग ट्रम्पको दावीमाथि पनि प्रश्न चिह्न उठाएको छ । गत जुन १२ मा सिंगापुरमा अमेरिकी राष्टपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच ऐतिहासिक शिखरवार्ता सम्पन्न भएको थियो । वार्ता लगत्तै उत्तर कोरियाले पुर्ण रुपमा परमाणु निसस्त्रिकरणको प्रतिबद्धता ब्यक्त गरेको ट्रम्पले दावी गरेका थिए । गत महिनामा आएका समाचारहरुले उत्तर कोरियाबाट प्रतिबद्धता पुरा नगरेको दावी गरेका थिए ।

सोमबार ट्रम्पले समाचार एजेन्सी रोयटर्सलाई दिएको एक अन्तरवार्तामा किमको मनसायमा जति आसंका गरिएको भएपनि परमाणु निसस्त्रिकरणका लागि ठोस कदम उठाएको बताएका थिए । उत्तर कोरियाले परमाणु परीक्षण पनि रोकेको उनले दावी गरे । किमसँग पुन भेटवार्ता गर्ने विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने– हामी फेरी भेट्ने धेरै सम्भावना छ तर यस विषयमा म कुनै बयान दिन चाहन्न ।

यसबीच संयुक्त राष्ट संघिय एजेन्सी आईएईएको नयाँ प्रतिवेदन ट्रम्पको दावीको प्रतिकुल देखिएको छ । विगत केहि दिन अगाडी उत्तर कोरियाका शासक किमले पनि अमेरिकामाथि निसाना बनाउँदै बयान दिएका थिए । किमले भनेका थिए– शत्रुता पुर्ण नाकाबन्दी गरि कोरियाली जनतालाई बर्बाद गर्न चाहेका छन् ।

अमेरिकाले अहिलेसम्म उत्तर कोरियामाथि लगाइएका आफना प्रतिबन्ध फिर्ता लिएको छैन ।