नेपाल समाचारपत्र, हेटौंडा
देशमा पहिलोपटक हेटौंडा उपमहानगरपालिकाले यस क्षेत्रका वासिन्दालाई घर निर्माण गर्दा नक्सा निःशुल्क बनाइदिने भएको छ ।
उपमहानगरपालिका कार्यपालिका बैठकले नगरवासीले घर निर्माण गर्दा नक्सा निःशुल्क बनाउने निर्णय गरेको हो । साना घर निर्माण गर्ने सर्वसाधारणलाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको हो ।
स्थानीय तहहरुले करवृद्धि गरेको जनगुनासो आइरहेको समयमा यस क्षेत्रका वासिन्दालाई घरको नक्सा बनाइदिने निर्णय गरिएको उपमहानगर मेयर हरिबहादुर महतले बताउनुभयो ।
विशेषगरी उपमहानगरमा गाभिएका तत्कालिन गाविसका वडालाई लक्षित गरेर निःशुल्करुपमा नक्सा बनाउने निर्णय गरिएको हो । एक हजार वर्गफिटसम्मका घर निर्माण गर्दा नक्सा निःशुल्क बनाइने मेयर महतले बताउनुभयो ।
आमनागरिक चारकोठे घर निर्माण गर्दा १५ हजार रुपियाँसम्म तिरेर नक्सा बनाउनुपर्ने वाध्यता भोग्दै आएका थिए । तर, आइतबारको निर्णयले घर निर्माण गर्दा पैसा खर्च गरेर घरधनीले नक्सा बनाउनुपर्ने वाध्यताबाट छुट्कारा पाएका छन् । नक्सा बनाउन उपमहानगरभित्र सेवाकेन्द्र स्थापना गर्ने तयारी थालिएको छ ।
यसअघि नगरवासीले कन्सल्टेन्सीमार्फत् नक्सा बनाउँदै आए पनि विभिन्न प्रक्रिया नपुग्दा उपमहानगरलाई नक्सापास गर्न पनि समस्या परेको थियो । अब उपमहानगरपालिकाले नै नक्सा बनाइदिने भएपछि प्राविधिक समस्याका कारण नक्सापास नहुने समस्या हटेको मेयर महतको भनाइ छ । नक्सा बनाउन उपमहानगरपालिकाले इञ्जिनियरको नेतृत्वमा प्राविधिक कर्मचारी खटाउने तयारी थालेको छ ।
हेटौंडाका १ देखि १९ नम्बर वडाका वासिन्दा उक्त निर्णयबाट लाभान्वित हुनेछन् । ‘निर्णयबाट विशेषगरी नगरमा गाभिएका वासिन्दालाई सहज हुनेछ,’ हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपानेले भन्नुभयो । नक्सा बनाउन रकम लाग्ने र नक्सापास गर्दा हुने प्राविधिक झन्झटका कारण साबिक गाविस र हाल हेटौंडाका वडामा सजिलो भएको वडाध्यक्षहरु बताउँछन् ।











प्रतिक्रिया