जम्मा १० जना विद्यार्थीलाई करोडको भवन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बालविकास केन्द्रमा अध्ययन गर्ने १० जना बालबालिकाहरुका लागि करोडको भवन बन्दै छ । तर, भवन अनुसारको शिक्षा र बालबालिका नभएका कारण सामुदायिक विद्यालय प्रतिको आर्कषण बन्दै गएको छ ।

एक वर्ष अघि शुरु भएको भवनले आकार ग्रहण गरे पनि कार्य सम्पन्न नहुँदा अलपत्र अवस्थामा छ । बर्षातमा सामाग्री ढुवानी लगायतको समस्याका कारण विद्यालयले पुर्ण आकार ग्रहण गर्न नसकेको हो । करोडौको भवन निर्माणाधिन छ । करोड रुपैयामा इको हिमाल नेपालले मण्डन नगरपालिका १० चण्डेनीको हल्देमा हिमज्योती प्राविको भवन निर्माण गरिरहेको छ ।

कक्षा ३ सम्म रहेको विद्यालयमा अहिले १० जना बालबालिका भर्ना भएका छन् । नगरपालिकाले विद्यार्थी नभएको विद्यालयमा कार्यरत शिक्षकहरुलाई अन्यत्र खटाएको छ । शिक्षकहरुको आन्तरिक दरवन्दी मिलान कार्यमा मण्डन नगरपालिकाले हिमज्योती विद्यालयका प्रधानाध्यापक जमान सिं तामाङ र शिक्षिका अनिता नेपाललाई अन्यत्र सरुवा गरिसकेको छ ।

चालु शैक्षिक सत्र देखि कार्य गर्ने गरी शिक्षकहरु सरुवा भए पछि बालविकास केन्द्रमा कार्यरत सहजकर्ता र सहयोगी गरी दुई जनाले विद्यालयको रेखदेख गरिरहेका छन् । सोविता नेपाल र सन्ध्या नेपालले १० बालबालिकाहरुलाई विद्यालयको एउटै कक्षा कोठा भित्र राखेर अध्यापन गराईरहेका छन् ।

२ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई बालविकास केन्द्रमा राख्ने नियम अनुसार १० जना बालबालिकाहरु भर्ना भएका हुन् । नगरपालिकाले उक्त विद्यालयलाई इसिडीको मान्यता दिएको छ । १० जना बालबालिकाहरु मध्ये पनि ५ जना दलित समुदायका छन् । दुई जना तामाङ, एक जना भुजेल र २ जना अन्य समुदायका बालबालिकाहरु छन् । २०५३ सालमा स्थापना भएको विद्यालयमा ब्यवस्थापन समितिका अध्यक्ष नवराज नेपाल छन् । पठनपाठन राम्रो नभएको, जनसंख्या घट्दै गएको र शिक्षकहरुको लार्पवाहिका कारण विद्यार्थीहरु विद्यालयमा नआउने गरेको स्थानीय अभिभावकले बताए ।

नजिकै रहेको कालिका आधारभुत विद्यालयमा विद्यार्थीहरु धेरै छन् । विद्यालय मर्ज गर्ने अभियान भए पनि करोडौको निर्माणाधिन भवन झनै अलपत्र पर्ने अवस्थामा छ ।

सामुदायिक विद्यालयहरुको अवस्था ग्रामिण र शहरी क्षेत्रमा त्यस्तै भएको छ । भवन राम्रा निर्माण हुने तर विद्यार्थी संख्या घट्दै जान थालेको छ । सरकारी लगानी सदुपयोग भन्दा दुरुपयोग भईरहेको हिमज्योती प्रावि एउटा उदाहरण मात्रै हो ।