समृद्धिका लागि सबैले त्याग गर्नुपर्छः मन्त्री बस्नेत


काठमाडौं ।
बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले देखेको समृद्धिको सपना पूरा गर्न सबैले आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने बताउनुभएको छ ।
फोकस नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘ समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य’ विषयक अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रममा बस्नेतले बिकासमैत्री वातावरण बनाउन सरकारले पहल गरिरहेको बताउनुभयो । ‘सरकार एउटा लक्ष्यमा हिँडिरहेको छ, यसका लागि सत्ता पक्ष, विपक्षका साथै सर्वसाधारण नागरिकको पनि सहयोग चाहिन्छ’ मन्त्री बस्नेतले भन्नुभयो ‘ हरियाली व्यवस्थापन, प्रदुषण न्यूनीकरण र वृक्षारोपण गरेर अघि बढ्ने मन्त्रालयको योजना रहेको छ ।’ उहाँले प्रदुषणका कारण कसैलाई हानी नोक्सानी भए र जिवनमा प्रभाव पारे क्षतिपूर्तिको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नम्बर ३ का नेकपा सांसद् रामेश्वर फुयालले सरकारले विकासको सपना देखेकाले त्यो लक्ष्य अनुसार अघि बढेको दावी गर्नुभयो । उहाँले ‘भनसुन नलाग्ने प्रशासन र मनसुन कुर्नु नपर्ने खेतिपाती’ प्रणाली आफ्नो परिकल्पना भएकाले सधैं त्यसको लागि लागिपरेको बताउनुभयो । संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने १५ जनाभन्दा बढीलाई सम्मान गरिएको थियो ।