नेकपामा नेतृत्व छान्न सकस


कृष्णउदास खनाल, वीरगन्ज ।
भदौ महिनासम्ममा पर्सा जिल्लामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्व चयन भइसक्नुपर्ने भएपनि पार्टीको आन्तरिक खिचातानीका कारण नेतृत्व छान्न सकस भएको छ ।
केही दिनअघि बसेको बैठकले जिल्लामा नेकपाको नेतृत्वका लागि तीनजनाको नाउँ सिफारिस भएको छ । खासगरी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रकाबीचमा पार्टी एकता भएपछि जिल्लाको नेतृत्वमा दुबै पार्टीका नेताहरुको दाबी भएपनि पार्टीको नेतृत्व तत्कालिन एमालेका नेताले गर्ने केन्द्रमा सहमति भएपछि माओवादीका नेता एक कदम पछि हटेका हुन् ।

यद्यपी माओवादीभित्र पनि फरकधारका रुपमा रहेका प्रभु साह र मातृका यादवले भने पर्सामा आफूहरुले नेतृत्व पाउनुपार्ने माग गरिरहेको बताइएको छ । अहिले जिल्लाबाट भने तत्कालिन एमालेका नेताहरुको नाउँ सिफारिस भएको छ । जिल्ला अध्यक्षका लागि एमालेको जिल्ला अध्यक्ष बनेका प्रभु हजरा,एक निजी कलेजका संचालक रहेका र एमाले निकटकै बालगोपाल थापा र पूर्व सासद रहेको जयप्रकाश थारुको नाउँ सिफारिस भएको नेकपाका जिल्ला सदस्य संजिव मिश्राले जानकारी दिए ।

नेकपाको जिल्ला नेतृत्वमा माओवादीका मातृका यादव पक्षले भने छोटेलाल यादवलाई जिल्ला अध्यक्ष बनाउनका लागि प्रयास गरेको बताइएको छ । जिल्लामा एमाले मात्रै रहदा समेत थुप्रै गुटउपगुटका कारण आजित भएकोमा माओवादी र एमालेबीचको एकताले झनै गुटहरुको संख्या बढ्नेमा भने यहाँका राजनीतिक बिश्लेषकहरुले बताएका छन् ।