रोल्पामा गरीबी दर ३२.७ प्रतिशत


महेश न्यौपाने, रोल्पा ।
रोल्पामा ६९ हजार ५३८ घरधुरी गरिव देखिएका छन । गरिव घरपरिवार सहयोग समन्वय वोर्डले सार्वजनिक गरेको अन्तिम सूची अनुसार जिल्लामा गरिवीको संख्या यस्तो देखिएको हो ।

जिल्लाको कुल जनसंख्या २ लाख १२ हजार ९२९ मध्ये ६९ हजार ५३८ जनसंख्या गरिव देखिएका छन । सूचिकरणमा परेका गरिव मध्ये ३४ हजार ७६२ अति गरिव देखिएका छन । यसैगरि २० हजार ८६६ मध्ये गरिव र १३ हजार ९१० सामान्य गरिवको रुपमा देखिएका छन । तीनै थरिका गरिवको संख्या जोड्दा जिल्लामा कुल गरिवको संख्या ३२.७ प्रतिशत मात्र देखिएको छ । यो संगै रोल्पा प्रदेश ५ मा सवभन्दा कम गरिव घरधुरी रहेको जिल्लाको रुपमा देखिएको छ । सर्वेक्षण गरिएका प्रदेशका ६ जिल्ला मध्ये सवभन्दा धेरै गरिवी दर कपिलवस्तुमा देखिएको छ । कपिलवस्तुमा कुल जनसंख्या ५ लाख ३९ हजार ७८७ मध्ये २ लाख २८ हजार ५९७ गरिवको रुपमा देखिएका छन । यो संख्या ४२.३ प्रतिशत हो । प्रदेशका अन्य जिल्लाहरु क्रमशः प्यूठान ४१.७ प्रतिशत, रुकुम पूर्व ४०.९ प्रतिशत,अर्घाखाँची ३७ प्रतिशत र वर्दिया ३५.२ प्रतिशत गरिवी दर देखिएको छ ।

२०७० सालमा गरिव घरपरिवार पहिचान कार्यक्रमका लागि देशभरमा २६ जिल्ला छनौट भएका थिए । सोही वमोजिम विभिन्न सूचकहरुको आधारमा गरिव घरपरिवार पहिचान गरिएको वताइएको छ । संपूर्ण घरपरिवारको तथ्यांक संकलन,प्रशोधन र विश्लेषण गरि पहिचानका संपूर्ण चरण पार गर्दै मन्त्री परिषदले स्वीकृती गरे पश्चात उक्त सूची सार्वजनिक गरेको वोर्डले जनाएको छ । सूची सार्वजनिक संगै स्थानीय तहहरुले गरिव घरधुरी परिचय पत्र वितरण गरेका हुन ।

रेमिट्यान्सका कारण रोल्पा जिल्ला प्रदेशमै कम गरिवी दर देखिएको हुन सक्ने जिल्लावासीहरुले आँकलन गरेका छन । जिल्लामा ४५ हजार वढी युवाहरु रोजगारीमा खाडी गएका छन, खाडीवाट प्राप्त विप्रेशनलाई आयश्रोतको रुपमा जोडिदा यस्तो परिणाम आएको हुन सक्छ स्थानीय राजनीतिक कार्यकर्ता मोहन परियारले भने । विप्रेशन अस्थायी आयश्रोत भए पनि सर्वेक्षणमा सो आमदानीमा उल्लेख हुदा तथ्यांक त्यस्तो देखिएको हुन सक्छ परियारले भने । युवा जनशक्ति पलायन भएको, खेतियोग्य जमिन वाँझिदै गएको तथा वैकल्पीक आमदानीका संभावना समेत ज्यादै न्यून भएपनि गरिवी दर प्रदेशमै कम देखिनु तथ्यांकिय त्रुटी हुन सक्छ परियारले भने ।