सहकारीहरु उत्पादन मूलक कार्यमा लाग्नुपर्छः मन्त्री अर्याल


पुष्कर बुढाथोकी, भक्तपुर ।
भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीहरु उत्पादन मूलक कार्यमा लाग्नु पर्ने बताउनु भएको छ । आज मध्यपुरथिमिमा शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को ११ औ वार्षिक साधारण सभामा बोल्दै उहाँले सहकारी अब देशको समृद्धिको सहयात्री हुनुपर्ने धारणा राख्नुभयो ।
पैसा थुपार्ने कार्यमा मात्रै नलागि लगानी र उत्पादन मूलक कार्यमा सहकारी सक्रिय हुनुपर्ने बताउँदै उहाँले लगानी र उत्पादनबाटै देशको समृद्धि हुने चर्चा गर्नुभयो ।मन्त्री अर्यालले देश संक्रमणकालिन अबस्थामा रहेकोले सहकारी ऐन पनि संक्रमण मै छ भन्दै अब प्रदेश र स्थानीय तहमा ब्यबहारीक किसिमको ऐन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका संचालक सरिता भट्टराई, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोबिन्द लाखाजु, स्पेशका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ लगायतले सहकारीले अन्य क्षेत्रमा पनि लगानी गर्न पाउँनुपर्ने व्यबस्था गर्नुपर्ने बताउनुभयो ।
त्यसअवसरमा संस्थाका अध्यक्ष राममसुन्दर श्रेष्ठले संस्थाको हालसम्म शेयर पूजीँ २ करोड ५७ लाख २५ हजार पुगेको, संस्थाको बचत ३१ करोड ४० लाख ८४९ रुपैया रहेको, २६ करोड ६२ लाख ७४ हजार ६१ रुपैया ऋण लगानी गरेको र यसवर्ष ८७ लाख ८८ हजार ४५ रुपैया रहेको जानकारी दिनुभयो ।कार्यक्रममा जेष्ठ नागरिक, एसईई उतीर्ण विद्यार्थीलाई कार्यक्रममा सम्मान गरिएको थियो भने विद्यार्थीहरुलाई छात्रबृत्ति समेत वितरण गरिएको छ ।