क्यान्सर सर्भाइभरशिप इभेन्ट सम्पन्न


काठमाडौ ।
ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्यान्सर सर्भाइभरशिप इभेन्ट सम्पन्न भएको छ । नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा भएको सो इभेन्टमा क्यान्सर रोगबाट निको भएका ब्यक्तिहरुले आफ्ना अनुभवहरु साटासाट गरेका थिए ।
स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्यान्सर निको भएका र क्यान्सरको उपचार गराईरहेका ब्यक्तिहरुका साथमा क्यान्सर रोग विशेषज्ञ डाक्टरहरु, क्यान्सर प्रभावितका परिवार, समाजसेवी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
क्यान्सर रोगलाई जितेका व्यक्तिहरुको अनुभव तथा सुझाव तथा विशेषज्ञ डाक्टरहरुको उचित परामर्शबाट क्यान्सरको उपचार गराईरहेका ब्यक्तिहरुको मनोबल बढाउन, उपचार प्रकियामा सहजता ल्याउन तथा प्रभावितको दैनिकीमा सुधार ल्याउने उद्देश्यले यस इभेन्टको आयोजना गरेको नेपाल क्यान्सर सपोर्ट गु्रपका कोअर्डिनेटर स्वरुपा श्रेष्ठले बताउनु भयो । उहाँले इभेन्ट मासिकरुपमा आयोजना गर्ने पनि जानकारी गराउनु भयो ।
बिभिन्न गम्भिर रोग मध्य क्यान्सर पनि एक हो तर सुरुमै पत्ता लागे थोरै पैसामा पनि यसको उपचार सहजसँग गर्न सकिन्छ तर जटिल अवस्थामा पुगि सकेपछि आर्थिक भार पनि धेरै पर्ने र निको हुन पनि गाह्रो हुने गर्दछ । तर उच्च मनोबलले क्यान्सरलाई जितेका धेरै उदाहरणहरु समेत छन् जुन क्यान्सर सर्भाइभरशिप इभेन्टमा देखियो ।
नेपाल क्यान्सर हस्पिटल, उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपले भदौ २ गते शनिबार ललितपुरको लगनखेलमा पाठेघर तथा स्तन क्यान्सर परिक्षणका लागि निशुल्क शिविरको पनि आयोजना गरेको थियो । शिविरमा सहभागि भइ लाभ लिनेमा बिवाहित तथा अबिवाहित महिलाहरुलाई पहिलो प्राथमिकता दिईएको थियो ।