बैतडीको तल्लोस्वराडमा चितुवा मृत फेला


विनोद सिंह विष्ट, बैतडी ।
चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा आज एक बयस्क चितुवा मरेको अवस्थामा भेट्टिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका बिजुल भन्ने ठाउँमा शनिबार दिउसो १२ बजे पासोमा परेर मृत अवस्थामा चितुवा फेला परेको हो ।
किसानहरुले दुम्सी मार्नका लागि थापेको पासोमा परेर चितुवा मरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चितुवा मरेको ठाउँमा प्रहरीको टोली खटाइएको र जिल्ला वन कार्यालयलाई समेत खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।
यसअघि गत महिना मेलौलीकोमा दुम्सीका लागि थापेको पासोमा परेको चितुवाको जिउँदै उद्धार गरेर बर्दिया राष्ट्रिय निकुञ्जमा लगिएको थियो । जंगली जनावरले बालीनाली नष्ट गर्न थालेपछि किसानहरुले पासो थाप्ने गरेका छन् । विगत ७ बर्षयता तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी २३ जनाले ज्यान गुमाएका छन् ।