प्रजिअको आश्वासनपछि अनशनरत किसानले तीनदिनपछि अनशन तोडे


सीताराम चौधरी, कपिलवस्तु ।
तीनदिनदेखि रिले अनशनमा बसेका कपिलवस्तुका उखु कृषकले शुक्रबार अनशन तोडेका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेलले किसानहरुले पाउनुपर्ने अनुदानको रकम जसरी भए पनि दिलाउने आश्वासन दिएपछि अनशनरत कृषकहरुले अनशन तोड्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
आव ०७१।७२ मा सरकारले कृषकलाई प्रोत्साहनको रुपमा चिनी मिलमा खसालेको उखुको प्रति क्वीन्टल २५ रुपैयाँको दरले अनुदान दिने घोषणा गरेको थियो । चिनी मिलकै ढिलासुस्तीका कारण पाँच वर्षअघि सरकारबाट पाउने अनुदानको रकम नपाएपछि आन्दोलनमा उत्रिएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले गुनासो गर्नुभयो । सबै जिल्लाका कृषकहरुले समयमै अनुदानको रकम पाएपनि कपिलवस्तुका कृषकहरु हालसम्म पनि अनुदानको रकम नपाएको सान संघका अध्यक्ष चौधरीले बताउनुभयो ।
कपिलवस्तुका ७ हजार उखु कृषकले २ करोड ५० लाख अनुदानको रकम चारवर्ष वित्दा पनि पाउन सकेका छैनन् –अध्यक्ष चौधरीले गुनासो गरे । शिवराज नगरपालिका वडा नं. ७का वडाध्यक्ष समेत रहेका चौधरीले भन्नुभयो –“हामीले सम्पूर्ण प्रकृयाहरु पूरा गरेका छौं । चार वर्षदेखि पटक पटक विभिन्न मन्त्रालय धाउँदै आएका छौं । तर अझैसम्म पाउन सकेनौं । बाध्य भएर आन्दोलनमा उत्रियौं ।” पटक पटक सरकारको ध्यानाकर्षण गरेपनि अनुदान नपाएको चौधरीको भनाई छ । सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा किसानले समस्या भोग्नुपरेको उहाँले गुनासो गर्नुभयो ।
इलाका प्रशासन अगाडि टेन्ट टाँगेर तीनदिनदेखि अनशनमा बसेका किसानलाई भेटेर प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेलले छिटै समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । पोख्रेलले यस विषयमा गम्भीर भएकोे भन्दै कृषि मन्त्री लगायतलाई भेटी कृषकले पाउनुपर्ने अनुदानको रकम दिलाउने आश्वासन दिनुभयो । अर्थ मन्त्रालय र कृषि मन्त्रालयलाई पत्र पठाइसकेको वताउँदै आफुलाई विश्वास गरी आन्दोलन स्थगित गरेर काममा जाने निर्णय गरेकोमा प्रजिअ पोख्रेलले कृषकहरुलाई धन्यवाद समेत दिनुभयो ।