पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई विदेशी पक्राउ


काठमाडौँ ।
महानगरीय अपराध महाशाखाले पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले पुतलीसडकको एक घरमा कार्यालय खोली पोल्याण्ड पठाइदिने भनी ठगी गर्ने युक्रेनका २६ वर्षीय बिटाली विलय र २३ वर्षीय नटालिला मेल्नीचौकलाई आज पक्राउ गरेको हो ।

पक्राउ व्यक्तिहरु सन् २०१६ अप्रिलमा पर्यटक भिसामा नेपाल आएर पुतलीसडकमा पिपुल वर्क गुप्र कार्यालय सञ्चालन गरी ठगी गरेको प्रहरीले जनाएको छ ।

महाशाखाका अनुसार उनीहरुले पोल्याण्ड पठाइदिने भनी उदयपुरका वुद्धिराज विष्टलगायत नौ जनालाई मासिक ९० हजारदेखि एक लाखसम्म कमाई हुन्छ भनी प्रतिव्यक्ति रु सात लाख ५० हजारसम्म लिने गरेको खुलेको छ ।

प्रहरीले उनीहरुसँग विभिन्न कम्पनीका ल्यापटप १० थान, विभिन्न कम्पनीका मोवाइल सात थान, पासपोर्ट दुई, कम्पनीको छाप तीन, स्क्यानर प्रिन्टर एक थान र विभिन्न कागजपत्रहरु बरामद गरेको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।
रासस