निर्धारित समयमै पुनःनिर्माण सम्पन्न गर्छौंः ज्ञवाली


काठमाडौँ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको ठोस कार्ययोजना बनाएर पूर्वनिर्धारित समयमै पुनःनिर्माणको काम सम्पन्न गर्ने बताउनुभएको छ ।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेपछि आज पदबहालीका क्रममा उहाँले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने बताउनुभएको हो ।

पुनःनिर्माणको जग बसाल्ने काममा आफू र कर्मचारी अहोरात्र खटेको स्मरण गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका अनुभवका आधारमा पुनःनिर्माणमा देखापरेका समस्यालाई समाधान गर्दै सबैसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले आगामी वर्षभित्र निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कार्यसमिति सदस्य तथा कर्मचारीले स्वागत गर्नुभएको थियो ।
रासस