आत्मघाती हमलामा २५ जना मारिए


काबुल । अफगानिस्तानको काबुल नजिकको शिते समुदाय बसोबास गर्ने दस्त–ए–बार्चीमा बुधबार अपराह्न शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या २५ जना पुगेको छ भने ३६ जना घाइते भएका छन् ।

“पैदल हिँडेर आएका आत्मघाती बम हमलाकारीले विस्फोट गराएको पुष्टी भएको छ । शैक्षिक संस्थाको भित्र छिरेर उनी आफैंलाई उडाएका थिए,” प्रहरी प्रवक्ता हसमत स्टानीक्जाईले बताए ।

गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले आक्रमणबाट कम्तीमा २५ जना मारिएका र अरु ३५ जना घाइते भएको जनाएका छन् । आक्रमणको तत्कालै कसैले जिम्मेवारी लिएको छैन । तालिबानले आफूले आक्रमण नगरेको जनाएको छ ।

हालैका दिनहरुमा अफगानिस्तानमा भिषण हिंसात्मक घटनाहरु भइरहेका छन् । यही साता अफगानिस्तानको पूर्वमा रहेको घज्नीमा तालिबानले गरेको भिषण आक्रमणबाट काबुल सरकारमाथि सैनिक र मनोवैज्ञानिक दबाब सिर्जना भएको छ । तालिबानले आफूले चाहेको समय र इच्छाबमोजिम काबुल वरपरका कुनै पनि ठाउँमा आक्रमण गर्न सक्दछ ।

घज्नीमा कम्तीमा १०० जना सुरक्षाकर्मी मारिनुका साथै सर्वसाधारण र लडाकूको हताहतीको स्पष्ट संख्या अझै आइसकेको छैन ।