नेपाल समाचारपत्र, काठमाडौं । शिक्षालयले हरेक वर्ष प्रदान गर्दै आएको १४ औं वाइवाइ नेशनल एजुकेशन अवार्डसम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यस बर्षको नेशनल एजुकेशन अवार्ड अन्तर्गत १३ विधामा १६ वटा पुरस्कार प्रदान गरिएको छ ।
यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार शिक्षा पत्रकारद्वय रोशन क्षेत्री गाउँले र विनोद घिमिरेलाई प्रदान गरिएको छ । आजको शिक्षा साप्ताहिकका गाउँले र काठमाडौं पोष्टका घिमिरेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले दश हजार राशीको सो पुरस्कार प्रदान गरेका हुन् ।
स्कुल अफ दिन इयर पुरस्कार सामुदायिक विद्यालय तर्फ विश्व निकेतन मावि, त्रिपुरेश्वर, काठमाडौं र संस्थागत विद्यालयर्फ मदरल्याण्ड स्कुल पोखरालाई प्रदान गरिएको छ । उत्कृष्ट शिक्षक पुरस्कार सुरेन्द्र घिमिरेलाई प्रदान गरिएको छ ।
कलेज एक्सिलेन्स अवार्ड गोल्डेनगेट कलेज पुरानो बानेश्वर, कन्ट्रिब्युसन अवार्ड ब्रिटिस काउन्सिल नेपाललाई प्रदान गरिएको छ । डेडिकेसन अवार्डबाट शैक्षिण गुणस्तर मापन केन्द्र डा. लेखनाथ पौडेल सम्मानित भएका छन् । गुडविल एचिभमेन्ट अवार्डबाट सेन्ट जेभियर्स स्कुल, गोदावरी क्रियटिभ अवार्ड नामी कलेज जोरपाटीलाई प्रदान गरियो ।
एजुकेशन भिजन अवार्ड डा. भोला दाहाललाई र प्रिन्सिपल अफ दि एयर अवार्डबाट लिटिल एन्जेल्स स्कुलका प्रिन्सिपल, मुकुन्द शर्मालाई सम्मानित गरिएको छ । एसइइ परीक्षामा सामुदायिक विद्यालयका छात्रामध्ये उत्कृष्ट नतिजा ल्याएबापत प्रदान गरिने पच्चिस हजार नगद राशीको ज्ञान उदय छात्रवृत्ति पुरस्कार सितलादेवी सामुदायिक विद्यालय कास्कीका अर्चना सापकोटा र पोखरिया मावि विराटनगरका समिक्षा नेपाललाई प्रदान गरिएको छ । उनीहरुले एसइइ परीक्षामा सर्वोकृष्ट नतिजा जिपिए ४ ल्याएका थिए ।
यसैगरी, नेशनल एजुकेशन लाइभटाइम एचिभमेन्ट अवार्ड बुटवलका शिक्षाप्रेमी लोकनाथ उपाध्यायलाई प्रदान गरियो । सबैलाई शिक्षामन्त्री पोखरेलले पुरस्कार एवं सम्मान प्रदान गर्नुभएको थियो ।
कार्यक्रम सम्बोधन गर्दै मन्त्री पोखरेल सम्बृद्धिका लागि जन्मभूमिमा फर्कन सबै नेपालीलाई आग्रह गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो–े “सिक्न जहाँ गए नि हुन्छ तर देशको विकास समृद्वीका लागी केही गर्न र आफ्नो जन्मभूमीमा मर्न नेपाल नैं आउनुस ।
“हाम्रो देश गरिब छैंन, हरेक दृष्टिकोणले हामी नेपालीहरु धनी छौं । ‘हाम्रो पृष्ठभूमिलाई हेर्ने हो भने हामीले चिन, कोरियालाई अन्नहरु बेच्ने गथ्र्याैं । आज हामीले खाने चामल विदेशबाट मगाउनुपर्ने अवस्था छ‘– उहाले भन्नुभयो ।”
कार्यक्रममा शिक्षालय मासिक पत्रिकाका प्रधान सम्पादक श्याम तण्डुकारले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने भएकाले सामुदायिक र निजी भनेर विभेद गर्न नहुने बताए । शैक्षिक क्षेत्रका क्रियाशिल र सफल ब्यक्ति र संस्था दुवै सम्मानका हकदार रहेको कार्यक्रमका निर्देशक बालमुकुन्द आचार्यले बताउनुभयो ।











प्रतिक्रिया