कर्णाली नदीमा खतराको बत्ती बल्यो

0
Shares

टीकापुर । कर्णाली नदीमा पनि पानीको सतह बढ्दै गएको छ । जलमापन केन्द्र चिसापानीका गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह खतराको लेबलमा पुगेको बताइन् ।

सोमबार बिहानैबाट कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले अझै बढ्न सक्ने गुरुङको भनाइ छ । दिउँसो मापन गरिएको तथ्यांकमा कर्णाली नदीमा पानीको सतह १० मिटर १५ सेन्टिमिटर पुगेको छ । कर्णाली नदीको चिसापानीमा पानीको सतह १० मिटर ८० सेन्टिमिटर पुगे खतरा मानिन्छ ।

पहाडमा केही दिनदेखि लगातार पानी परिरहेका कारण कर्णाली नदीमा बाढीको खतरा रहेको गुरुङले बताइन् । कर्णाली नदीमा बाढी आए लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको राजापुर नगरपालिकाका केही भाग डुबानमा पर्ने गरेका छन् । प्रशासनले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

कर्णाली नदीमा आउने बाढीबारे विपद् पूर्वसूचना प्रणालीमार्फत प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क गराउने गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाको मोबाइलमा एसएमएस पठाइएको गुरुङले बताइन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा समेत कर्णालीको पानीको सतहको रेकर्ड हुन्छ । गत वर्षदेखि कर्णालीमा पानीको सहत खतरामा पुग्नेबित्तिकै तटीय क्षेत्रका जनतालाई एसएमएस पठाएर सतर्क रहन आग्रह गरिँदै आएको छ ।