हरिसुन्दर छुकां, भक्तपुर
काभ्रेको पनौतीबाट प्रकाशन भइरहेको अक्षरमार्ग साहित्यिक त्रैमासिकले विभिन्न विधाका चार स्रष्टालाई शनिबार सम्मान गरेको छ।
विगत ६ वर्षदेखि प्रकाशन भइरहेको उक्त पत्रिकाको छैटौं वार्षिकोत्सवको अवसरमा कवि, गीतकार तथा चलचित्रकर्मी, गायक, समालोचकलाई सम्मान गरिएको हो। पत्रिकाले स्थापना गरेको विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट कवि, गीतकार तथा चलचित्रकर्मी यादव खरेल, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट वरिष्ठ संगीतकार प्रेमध्वज प्रधान, अक्षरमार्ग नरबहादुर स्मृति सम्मानबाट समालोचक ज्ञानु पाण्डे, भरतराज अक्षरमार्ग सम्मानबाट भीमप्रसाद काफ्ले सम्मानित भएका हुन्।
‘साहित्यको समृद्धि र प्रवद्र्धनमा उहाँहरूले आ–आफ्नो क्षेत्रमा पुर्याउनुभएको योगदान उल्लेखनीय छ, उहाँहरूले पुर्याउनुभएको योगदानको कदर गरी पत्रिकाले सम्मान गरिएको हो।’ –आयोजक पत्रिकाका सम्पादक सूर्यप्रसाद लाकोजुले भने। ती व्यक्तित्वलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार डा. तुलसी भट्टराईले संयुक्तरूपमा सम्मान गरेका थिए।
सोही अवसरमा अक्षरमार्ग साहित्यिक पत्रिकाका सम्पादक सूर्यप्रसाद लाकोजुद्वारा लिखित मुक्तक संग्रह ‘शाश्वत स्वरहरू’, चलचित्रकर्मी खरेलद्वारा लिखित कविता संग्रह ‘अनि लहर ब्युझिन्छ’ र दुई वटा गीति एल्बम पनि विमोचन गरिएको थियो। कार्यक्रममा कुलपति उप्रेतीले स्थानीय तहमा रहेर साहित्य कर्म गर्नुको महत्व अतुलनीय रहेको बताउँदै साहित्यमार्फत काभ्रेलाई प्राज्ञिक पहिचान दिने काममा काभ्रेका साहित्यकारको सक्रियता लोभलाग्दो रहेको बताए।
उनले साहित्य कर्मबाटै समाजलाई सुसंस्कृत, सभ्य र समृद्ध बनाउन सकिने बताउँदै साहित्यिक पत्रकारिता गर्नु चुनौतीपूर्ण रहे पनि साहित्यिक पत्रकारले साहित्यको प्रवद्र्धनका लागि त्रिवेणीको काम गरिरहेको बताए। स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ ले सम्मान तथा पुरस्कारलाई विकृत बनाउनबाट बचाउन नसक्नुलाई साहित्यिक क्षेत्रमा मौलाएको विकृतिको संज्ञा दिएका थिए। उनले पछिल्लो समयमा पैसा भएका व्यक्ति पनि पैसाको आडमा साहित्य क्षेत्रमा आउँदा दुःख गरेका साहित्यकारहरू ओझेलमा परेको उल्लेख गरे।
कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, जनमत साहित्यिक मासिकका वरिष्ठ सम्पादक मोहन दुवाल, चलचित्रकर्मी खरेल, संस्कृतिकर्मी ज्ञानकाजी मानन्धरले साहित्यमार्फत भइरहेको सेवाको विषयमा चर्चा गर्दै साहित्यको समृद्धिका लागि राज्यले नै पहल गर्नुपर्नेमा जोड दिएका थिए।











प्रतिक्रिया