प्रदेश ७ को नाम दशरथचन्द प्रदेश



विनोद सिंह विष्ट, बैतडी ।
प्रदेश नं.७ को नाम शहीद दशरथचन्दको नामवाट नामाकरण गर्न शहीद दशरथचन्द स्मृति प्रतिष्ठान बैतडीले प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । शहीद दशरथचन्दको जन्मघरमा आज सम्पन्न स्मृति प्रतिष्ठानको २४ औं बार्षिक साधारणसभाले प्रदेश नम्बर सातको नाम शहीद दशरथचन्दको नामबाट राख्न प्रदेशका सम्पुर्ण प्रदेश सभा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
नामाकरणका लागी प्रदेशका ५३ वटै प्रदेशसभा सदस्यलाई पत्राचार गर्ने निर्णय भएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । महान शहीद दशरथचन्दको नामवाट नामाकरण गरे प्रदेशभरीका सबै नागरिकलाई सर्वस्वकार्य हुने भएकोले यस्तो निर्णय गरेको उनले बताए ।
साथै बैतडीमा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल गर्ने निर्णय पनि भएको छ । गरिव नागरिकका छोराछोरीको प्राविधिक शिक्षामा सहज रुपमा पहुँच पुगाउने उद्देश्यले प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।
यस्तै शहीद दशरथचन्दको जीवनीमा आधारित वृत चित्र निर्माण गर्ने, शहीद दशरथचन्दको इतिहास समेटिएको ग्रन्थ प्रकाशन गर्ने निर्णय समेत गरिएको छ । यसका लागि दशरथचन्द नगरपालिकाले १० लाख विनियोजन गरेको छ । साधारणसभामा गत आर्थिक बर्षको ३० लाख ३५ हजार १०९ रुपैयाको आयव्यय विवरण प्रस्तुत गरिएको छ भने चालु आर्थिक बर्षका लागि १ करोड ६७ लाख ३३ हजार रुपैया बराबरको बजेट प्रस्ताव गरिएको छ । यस्तै शहीद दशरथचन्दको जन्मघर सम्म पुग्नेबाटोमा निर्माण भईरहेको गेटलाई पूर्णता दिनका लागि स्थानीय तहहरुसंग आग्रह गर्ने उपाध्यक्ष विनोद वहादुर चन्दले बताए ।
प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतमा सम्पन्न भएको बार्षिक साधारणसभामा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा प्रमुख अतिथी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्