‘जनप्रतिनिधिहरु त्याग र समपर्णको प्रतिमुर्ति बन्न सक्नुपर्छ ’


भक्तपुर ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिहरु त्याग र समपर्णको प्रतिमुर्ति बन्न सक्नुपर्ने बताउनुभएको छ । भक्तपुर जिल्लाको दोस्रो जिल्ला सभामा बोल्दै मन्त्री पण्डितले जनप्रतिनिधिहरु जनतालाई खुसी र देशलाई समृद्घ बनाउनतर्फ लाग्नुपर्ने बताउँदै सबै मिली मेहनत गरे देश चाँडै आर्थिक क्रान्तितर्फ लम्कने धारणा राख्नुभयो ।

देशमा ३ तहको सरकार भए पनि देश एउटै भएको बताउँदै उहाँले नेपालमा संघीयताको बिबिध नमुना मध्य उत्कृष्ट नमुना लागु भएको उल्लेख गर्नुभयो ।राज्यका तीनै तह अधिकार प्राप्तीको होडबाजीमा लाग्नुभन्दा पाएका अधिकारलाई सहि सदुपयोग गर्दै र प्राथमिकता निर्धारण गर्दै अघि बढ्नुपर्ने औंल्याउनुभयो ।

हरेक स्थानीय तहमा कुन तहको ,कति संख्यामा कर्मचारी आवश्यक छ त्यो तयार गरी पठाउन सबै स्थानीय तहमा पत्रचार भैसकेको बताउँदै राज्यका केन्द्र,प्रदेश र स्थानीय तीनै तहमा छिट्टै कर्मचारी समायोजन गर्ने तैयारी भईरहेको उल्लेख गर्नुभयो ।

मन्त्री पण्डितले संघीयताका तीनवटै सरकारले आफ्नो भूमिकाका बारेमा स्पष्ट हुनुपर्ने बताउँदे नेपालको संविधानले संघ,प्रदेश र स्थानीय तहलाई छुट्टाछुट्टै अधिकार प्रदान गरेकाले कसैले पनि आफ्नो अधिकारप्रति शंका पाल्न नहुने बताउनुभयो । मन्त्री पण्डितले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा देश अगाडि बढिसकेकाले तीनैवटै सरकारले एक आपसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । अहिले संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा तीवनटै तहले आफ्ना अधिकारका बारेमा कुनैपनि भ्रम पाल्न नहुने तर्क गर्दै मन्त्री पण्डितले भन्नुभयो,‘कहिलेकाहि बुझाइमा अन्तरका कारणले अधिकारका बारेमा केही अलमल भएको छ ।’

संघीयताका विभिन्न मोडलमध्ये नेपालले प्रयोग गरिरहेको ढाँचा विशिष्ट भएको बताउँदै मन्त्री पण्डितले संघीयता कार्यान्वयन गर्ने सवालमा आउने जतिपनि अप्ठ्यराहरु छन्, त्यसलाई पन्छाएर अगाडि बढ्नपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले जिल्ला समन्वय समितिको भूमिकालाई कुनै पनि हालतमा संकुचित गर्न नहुने तर्क गर्नुभयो । उहाँले जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाउन साधन, श्रोत र अधिकारले सम्पन्न बनाउनुपर्ने बताउनुभयो । अहिलेको जिल्ला समन्वय समिति जिल्लाको हुलाक कार्यालयजस्तो पनि नभएको बताउँदै सांसद बस्नेतले जिल्ला समन्वय समिति जिल्लाका बासिन्दाहरुको भावनासँग पनि जोडिएको बताउनुभयो ।

जिल्ला भित्र रहेका विभिन्न निकाय तथा स्थानीय सरकारकाबीचमा आपसी समन्वय गर्नको निम्ति पनि अधिकारसम्पन्न जिल्ला समन्वय समिति आवश्यक भएको सांसद बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,‘जिल्ला कुनै पनि आर्थिक, सामाजिक र राजनीतिक घटनाक्रमहरुलाई आवश्यक समन्वय गर्ने निकायका रुपमा जिल्ला समन्वय समिति हुनु जरुरी छ ।’
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले समितिको बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठ,चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र,समितिका उपप्रमुख सरिता कुँवर,जिसस अधिकारी पर्वप्रसाद सापकोटा लगायतले जिससको भूमिका र जिल्लाका विबिध पक्षबारे चर्चा गर्नुभएको थियो ।