सेनाले निर्माण गरेको आधुनिक शौचालय प्रयोगविहीन


विनोद सिंह विष्ट, बैतडी ।
नेपाली सेनाले बैतडी दशरथचन्द नगरपालिका १ गुरुखोलामा रहेको मणिलेक माविमा निर्माण गरेको लैङ्गिक ÷ अपाङ्गमैत्री शौचालय प्रयोगविहीन बनेको छ । वि स २०७३ सालमा निर्माण गरेको १० सिटे लैङ्गिक ÷अपांगमैत्री १० सिटे आधुनिक उक्त शौचालय पानीको अभावमा प्रयोगविहीन बनेको हो ।
तत्कालिन नेपाली सेनाको रणशुर गुल्म, साविकको जिल्ला विकास समिति र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ८ लाख बढीको लागतमा शौचालय निर्माण गरिएको थियो ।
शौचालय निर्माणका लागि तत्कालिन जिल्ला विकास समितिको ३ लाख,खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको २ लाख र रणशुर गुल्मको ३ लाख २० हजारको लगानी रहेको छ ।
शौचालय प्रयोगमा ल्याउन नसक्दा विद्यार्थीहरुलाई समस्या भएको छ । आधुनिक शौचालय निर्माण भएको भएपनि आफूहरुले शौचालय प्रयोग गर्न नपाएको कक्षा ११ की छात्रा निर्मला टेरले बताईन् । शौचालय प्रयोगमा नआउँदा छात्राहरुलाई बढी समस्या छ उनले भनिन्“शौचालय प्रयोगमा नआउँदा अरुबेला भन्दा पनि महिनावारी भएको बढी समस्या हुने गरेको छ ”
विद्यालयमा शौचालय प्रयोगमा नआउँदा छात्राहरुलाई समस्या हुने गरेको शिक्षिका कलावती चन्दले बताईन् । महिनावारी भएका बेला शौचालय नभएकै कारण छात्राहरु विद्यालय आउदैनन् उनले भनिन्“ शौचालय नहुँदा छात्राहरुलाई महिनावारी भएको बेला झन् समस्या हुने गरेको छ”

दुई बर्ष अघि तर पानीको अभावमा लैगिंक तथा अपांगमैत्री शौचालय प्रयोगमा आउन नसकेको विद्यालयका प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए । पानीको अभावमा बन्द अवस्थामा रहेको शौचालय सञ्चालनका लागि प्रयास भईरहेको छ प्रधानाध्यापक रावलले भने “विद्यालयमा पानीको व्यवस्था गरिदिन वडा कार्यालय,शिक्षा कार्यालयलाई अनुरोध गरेका छौं ”
यो बिषयमा व्यवस्थापन समितिको बैठकमा समेत छलफल भएको समेत उनको भनाई रहेको छ ।
नेपाली सेना सदैव जनहितमा समर्पित भन्ने नारालाई सार्थक तुल्याउनका लागि मणिलेक उच्च मावि गुरुखोलामा सेनाले शौचालयको निर्माण गरिएको हो । नेपाली सेनाले परापुर्व कालदेखि नै सामाजिक जनहित कार्यलाई निरन्तरता दिदै नागरिक सैनिक सम्वन्धलाई दिगो र ब्यवशायिक रुपमा सुदृढ गर्न सरकारी निकाय र सुरक्षा निकाय र आम जनतासंगको सम्वन्धलाई अझ प्रगाढ बनाउदै जाने लक्ष्य अनुरुप बैतडीमा रहेको नेपाली सेनाले शौचालय निर्माण गरेको हो ।
मणिलेक मावि गुरुखोलामा हाल ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।