वडाध्यक्ष नेपालले एकवर्षको पारिश्रमिक पहिरो पिडितलाई सहयोग गर्ने



ज्ञानमणि नेपाल, काभ्रे ।
जिल्लाको मण्डनदेउपुर नपा १० चण्डेनीमण्डनका पहिरो पीडितलाई सोहि वडाका वडाध्यक्ष विष्णुमणि नेपालले आफूले वडाध्यक्ष भएपछि पाउने एकवर्षको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् । साउन २२ गतेको अविरल वर्षा पछि सो वडाको नारिमखर्क भन्दा माथी र हलेदेछाप तलको वीच भाग चिनेसेरा भन्ने ठाउँमा पहिरो गइ घरहरु पुरिंदा स्थानिय हेम बहादुर तामाङका डेढ वर्षका छोरा दिपक तामाङको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएका थिए । सो पहिरोमा परि १९ घरहरु क्षति ग्रस्त भएका छन् भने ६० घर उच्च जोखिममा रहेका छन् ।
घटना पछि लगत्तै बसेको जनप्रतिनिधीहरुको बैठकले पहिरो पिडित वस्ती स्थानान्तरण तथा राहतकोषको स्थापना गरि सबैलाई उक्त कोषमा सहयोगका लागी अनुरोध गरेको छ । घटना लगत्तै पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी, कारितास नेपाल, नेपाल प्रहरी, स्थानियवासी, जनप्रतिनिधी, राजनितीक दलका प्रतिनिधी लगायतले उद्धार गरी विभिन्न विद्यालय, सामुदायीक भवन लगायतमा आश्रय दिइएको छ ।
यसका साथै श्रावण २५ गते बसेको वडा र बिपत ब्यबस्थापन समिति चण्डेनीमण्डनको बैठकबाट पहिरोमा परि ज्यान गुमाउने परिवारलाई ७ हजार र घाइतेहरुलाई ५ हजार राहत उपलब्ध गराउने निर्णय गरिएको छ । साथै पीडितहरुको पहिचान गर्न वडा भरी नै अनुगमन गरि सहि तथ्यांक संकलन गर्न ५ सदस्यीय समिती पनि गठन गरिएको छ ।
भुकम्पले निम्त्याएको घाउ निको नहुदै अर्को बिपती पहिरोको सामना गर्न बाध्य यहाँका पीडितहरुलाई तत्काल राहत र सुरक्षित ठाउँमा नमुना वस्ती सहितको आवास निर्माणका लागि आफूले एकवर्षको तलब सहयोग गर्ने घोषणा गरेको वडाध्यक्ष नेपालले बताए । साथै उक्त पहिरो पीडितहरुलाई सकेको सहयोग गर्न देश विदेशमा रहेका सबै दाजुभाई तथा दिदीबहिनीमा उनले अनुरोध पनि गरेका छन् । मण्डनदेउपुर नगरपालिकाले पनि पीडितहरुका लागि सहयोग गर्ने तयारी गरिरहेको बताइएको छ ।
पहिरोबाट बिस्थापित र प्रभावितहरुको लागि मल्हम लगाउने प्रयास स्वरुप सो वडाका जागरुक युवाहरुले सहयोग अभियान शुरु गरिसकेको स्थानियवासी कुमार तामाङले जानकारी दिए । सहयोग अभियान अन्र्तगत जोगिटार युवा वचत समुहबाट नगद ८ हजार ४ सय उपलब्ध गराउने निर्णय भएको समुहका महेश्वर नेपालले जानकारी दिए । त्यसै गरि इकोहिमाल संस्थाबाट पनि १ लाख सहयोगको प्रतिबद्धता आएको पनि कुमार तामाङले जानकारी दिएका छन् । विपतको यो घडीमा सबैलाई सहयोगका लागि उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्