हुन्छ हुन्छ


सरकारले समृद्धिको नारा लगाएर सपना देखाएको देखाइ छ। सडकमा हिँड्यो धुलो र हिलोले हिँडिसाध्यै छैन। सरकार भन्छ– हुन्छ हुन्छ, होला कि, हुन्छ कि, हुन सक्छ भनेर जनताले आश गरेको पनि धेरै भइसक्यो। नाच्न नजान्नेले आँगन नै टेढो देख्छ भन्ने भनाइ नै छ। मन नभए पनि काम नगर्न अनेक बहाना बनाउने प्रवृत्ति सरकार चलाउने र कर्मचारीहरूमा व्याप्त नै छ। हुन्छ भन्न जति सजिलो छ, काम गर्न त्यति नै गाह्रो पनि छ। हिलो र धुलोका कारण उपत्यकाबासी आक्रान्त बनेका छन्। सरकार हुन्छ हुन्छ भन्न छोडेको छैन।

स्मार्ट सिटीको फुर्ती लगाएर सरकारले फेरि जनतालाई ढाँट्ने काम गर्न बाँकी राखेको छैन। सरकार दिन्छु, हुन्छ, भइहाल्छ, आजै हुन्छ, भोलि नै हुन्छ, हुन्छ कि हुन्छ भनेर थाकेको छैन। यता सडक हेर्यो हिँड्न नहुने छ।

सडकमा फोहोरको डंगुर देख्दा देशमा सरकार छ कि जस्तो लाग्छ। अस्तव्यस्त उस्तै छ। आखिर सरकारको पनि के जान्छ र हुन्छ हुन्छ भन्दैमा। काम गर्न नपर्ने भएपछि पैसा नलाग्ने गफ जति गरे पनि भइ त हाल्यो। अहिले नागरिकहरू धरहरासँग भन्न थालेका छन्– ‘हुन्छ त हुन्छ तर कहिले हुन्छ, सरकार मुखले मात्र कि कामले पनि?’