गृहमन्त्री थापा सम्मानित, समाजवादी शिक्षामा जोड


रत्ननगर ।
गृहमन्त्री रामबहादुर थापाले समाजवादी शिक्षा लागू गर्नुपर्नेमा जोड दिँदै नेपालमा प्राविधिक र व्यावहारिक शिक्षाको खाँचो रहेको औँल्याउनुभएको छ ।

चितवनको भरतपुरमा आज कृषि तथा वन विज्ञान विश्व विद्यालयको संयुक्त प्राध्यापक सङ्गठन र संयुक्त विद्यार्थी सङ्गठनद्वारा आयोजित गृहमन्त्रीको सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “शिक्षामा अहिले अल्पसङ्ख्यक पूँजीवादीको हाबी छ, उहाँले भन्नुभयो, बहुसङ्ख्यक अझै बाहिर छन्, त्यो हुनु हँुदैन ।”

सरकारले शिक्षामा निजी र एकाधिकारको अन्त्य गर्दै निःशुल्क शिक्षालाई जोड दिएको बताउँदै उहाँले शिक्षामा पूँजीपतिको हाबी अन्त्य गराउनुपर्ने बताउनुभयो ।

विदेशमा नेपाली पढ्न जाँदासमेत नेपाली पूँजी बाहिरिएको तर्क गर्दै गृहमन्त्री थापाले यसका लागि नेपालमा सर्वसुलभरुपमा गुणस्तरीय शिक्षा दिन सरकार गम्भीर भएर लागेको बताउनुभयो ।
सो अवसरमा उपप्राध्यापकहरुले कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी कलेजलाई दिएको सम्बन्धन सरकारले खारेज गरेकामा खुशी व्यक्त गरेका थिए । सोही कार्यक्रममा गृहमन्त्री रामबहादुर थापालाई सम्मान गरिएको थियो ।

तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्वविद्यार्थीसमेत रहनुभएका गृहमन्त्री थापा, राज्यको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनकै गौरव भएको भन्दै सम्मान गरिएको थियो ।

सो क्रममा कृषि शिक्षा सर्वसाधारणको पहुँचमा पु¥याउन, निजी क्षेत्रलाई सम्बन्धन नदिन, कृषि परिषद् गठन र कृषि शिक्षा नीति निर्माणका लागि पहल गर्नसमेत प्राध्यापक र विद्यार्थीले माग गरेका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
यसअघि चितवनका विभिन्न कार्यक्रममा सहभागी गृहमन्त्री थापाले शान्ति सुरक्षा मजबुत बनाउन सरकारले कुनै कसर बाँकी नराखेको बताउनुभएको थियो ।
रासस