भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त घर निर्माण


चितवन ।
भूकम्पले पूर्णरुपमा क्षति भएका २२६ घर निर्माण सम्पन्न भएका छन् । उनीहरुले निर्माण सम्पन्न गरेर तेस्रो किस्ता रकम समेत लिइसकेका छन् ।

भूकम्प प्रभावितको घर निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले दिएको जानकारीअनुसार जिल्लाका सात हजार ३३५ घर धुरीले भूकम्पले पूर्ण रुपमा क्षति बनाएको भन्दै निवेदन दिएका थिए ।

एकाइका इञ्जिनीयर सुजन नेपालका अनुसार पाँच हजार ६२६ परिवारले घर बनाउनका लागि पहिलो किस्ताबापत रु ५० हजार लगेका छन् । दोस्रो किस्ता रु दुई हजार ४२८ जनाले लगेका छन् । तेस्रो किस्ताको भुक्तानीका लागि २४२ जनाले निवेदन दिएकोमा २२६ जनाले रकम लगेको उहाँले बताउनुभयो ।

प्राधिकरणले पहिलो किस्ता घर निर्माणको सम्झौता पश्चात् रु ५० हजार, दोस्रो किस्ता जगको डिपिसीपछि रु एक लाख ५० हजार र तेस्रो किस्ता घर निर्माण सम्पन्न भइसकेपछि रु एक लाख दिने व्यवस्था गरेको छ । राहत रकम सम्झौता गर्दा वन क्षेत्र र सरकारी जमीनमा बसोवास गरेकाले सम्झौता गर्न पाउँदैनन् । जसका कारण एक हजार ७१५ घरधुरीले अझै पहिलो किस्तासमेत सम्झौता गर्न आएका छैनन् ।

नेपालका अनुसार दोस्रो किस्ता लिन आउने लाभग्राहीको संख्या उल्लेखनीय देखिएको छैन । तत्काल राहत पाउने नाममा एकै परिवारका चार जनासम्मले निवेदन दिएको, विभिन्न जिल्लाबाट बसाइँसरी चितवनमा घरनिर्माण गरेका लगायतका कारण दोस्रो किस्ता लिनेको संख्यामा उल्लेख्य प्रगति हुन नसकेको नेपालले बताउनुभयो ।

सरकारले स्थानीय तहसँग समन्वय गर्न निर्देशन दिएको भए पनि स्थानीय तहले प्रभावितलाई राहत दिने विषयमा विभिन्न किसिमका प्रावधान बनाउँदा समस्या आएको उहाँले बताउनुभयो ।
रासस