सबै जातजाति र समुदायबीच एकताको विकल्प छैन्ः मन्त्री दावा लामा


चितवन ।
प्रदेश नं। ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समृद्ध नेपालको लागि सबै जातजाति र समुदायबीच एकताको विकल्प नरहेको बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले २४ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले समुदाय समुदायबीच आरोप प्रत्यारोप गर्ने दिन सकिएको बताएका हुन् ।

नेपाललाई समृद्ध र सम्पन्नशाली बनाउनको लागि समुदाय मात्र नभई राजनैतिक दल समेत एकै ठाउँमा उभिनुको विकल्प नरहेको बताए । आदिवासी जनजातिको आन्दोलनकै कारण देशमा संघीयता आएको भन्दै मन्त्री लामाले एकअर्कालाई गाली गरेर झगडा गरेर देशले निकास नपाउने बताए । समृद्ध नेपाल र सुखी नेपालीको लागि बामपन्थी पार्टी र प्रजातान्त्रिक पार्टीबीच एकताको बाटो अपनाउने समय आएको उनको भनाइ छ ।

प्रदश नं। ३ का सांसदहरू रीना गुरूङ, मिलनबाबु श्रेष्ठ र रामलाल महतोले समेत आदिवासी जनजाति समुदायको मुद्धामा सरकार गम्भीर हुनुपर्ने बताएका थिए । नारायणी कला मन्दिरमा भएको कार्यक्रममा चितवनका विभिन्न जातजातिको साँस्कृतिक पहिचान झल्किने खालका लोक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । बिहीबार चितवनसहित विश्वभरका आदिवासी जनजाति समयदायले २४औैँ विश्व आदिवासी जनजाति दिवस मनाएका छन् ।