दाहसंस्कार गर्न नपाएकोमा क्रिस्चियन महासंघको आपत्ति


नेपाल समाचारपत्र, काठमाडौं ।
मृत्यु संस्कार गर्ने वातावरण नभएको भन्दै राष्ट्रिय क्रिश्चियन महासंघले सरकारसँग उपयुक्त वातावरण मिलाइदिन माग गरेको छ ।
महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मानिसको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मृत्यु संस्कार गर्ने अधिकारबाट बञ्चित गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष सिबि गहतराजले पटकपटक सरकारसँग आफूहरुले माग राख्दै आएपनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो । ‘ हामीले नचाहिने र पूरा गर्न नसकिने माग राखेका पनि छैनौं र त्यो अधिकार दिँदा कसैलाई पनि घाटा छैन’ गहतराजले भन्नुभयो ‘मृत्यु भएको पींडा त छँदैछ त्योभन्दा ठूलो पीँडा शवको दाहसंस्कार गर्ने समस्या छ, समाधिस्थल नभएकाले राती खोलामा फाल्नुपरेको छ ।’

२ साताअघि अमेरिकाको वासिङ्टन डिसि स्टेटले आयोजना गरेको कार्यक्रममा भाग लिएर फर्कनुभएका गहतराजले विश्वका धेरै देशका प्रतिनिधिहरुको उपस्थितिमा मानव अधिकार, अन्तर्राष्ट्रिय सम्वन्ध, धार्मिक तथा सामाजिक विषयमा छलफल र अन्तरक्रिया भएको बताउनुभयो । कार्यक्रममा नेपालका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की र राष्ट्रिय मानव अधिकार आयोग नेपालका प्रवक्ता मोहना अन्सारीका पनि सहभागिता रहेको थियो । ‘ हिजो एकले अर्कालाई दोष लगाउने गरिन्थ्यो त्यो अवस्थामा वास्तविकता आउँदैनथ्यो त्यसैले पनि सबैलाई एकै ठाउँमा राखेर वृहत छलफल गरिएको हो ’ गहतराजले भन्नुभयो ‘ नेपालमा मात्र होइन अन्य देशमा पनि धार्मिक र अल्पसंख्यक समुदायमाथि विभेद भएको रहेछ ।’

महासंघले धार्मिक र सामाजिक संघसंस्थाले सरकारको सोच अनुसार काम गर्दै आएपनि त्यसको भावनालाई बिर्सेर विभेद गर्दै अधिकारमाथि धावा बोल्दै आएको महासंघले जनाएको छ । महासंघले आफूहरुमाथि अनावश्यक टिकाटिप्पणी नगर्न पनि सरकार र सम्वन्धित निकायसँग आग्रह गरेको छ । भदौ १ बाट लागू हुने नयाँ कानुनले धार्मिक अधिकार संकुचन गर्ने भन्दै त्यसमा सच्याई सबैलाई समान व्यवहार गर्ने कानुन बनाउन पनि महासंघले आग्रह गरेको छ । नेपालमा ३० लाखभन्दा बढी क्रिश्चियन भएको महासंघको दावी छ ।