धरौटी रकम बुझाउन नसकेपछि घोषसहित तीनजना व्यापारी कारागार चलान


नेपाल समाचारपत्र, भद्रपुर ।
नक्कली भ्याट बिल (मूल्य अभिबृद्धिकर) प्रयोग गरी अबैध कारोबारको आरोपमा पक्राउ परेका व्यापारीसहित तीन जना कारागार चलान भएका छन् । झापा भद्रपुर बजारमा सञ्चालित शिव स्टोरका सञ्चालक सञ्जीव घोष र उनका सहयोगी भद्रपुर कै महोमद युवराम मियाँ र चालक विकास विश्वकर्मालाई मङ्गलबार कारागार चलान गरिएको राजश्व अनुसन्धान पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा १ करोड ५७ लाख धरौटी रकम बुझाउन नसकेछि उनिहरुलाई पुर्पक्षको लागि सुनसरी स्थित पुर्वाञ्चल क्षेत्रीय कारागार झुम्का पठाइएको राजश्व अनुसन्धान पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीका प्रमुख जयबहादुर भण्डारीले बताए । अनुसन्धान गर्दै जादा उक्त रकम देखिएकोले आरोपितले बुझाउन नसक्ने बताएपछि तीन जनालाइ कारागार पठाइएको भण्डारीले जनाए । कारागारमा राखेर उनिहरुको कारोबारमाथि थप अनुसन्धान अघि बढाइने उनको भनाइ छ । पक्राउ परेपछि सुनसरी अदालतबाट पहिलो पटक सात दिन र आइतबार पन्ध्र दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो ।
जिल्ला प्रहरी कार्यलय सुनसरीले एक हप्ता अघि घोषका दुई सहयोगीलाई कुर्था सुरुवाल बोकेकोे मे १ च ३०४९ नम्बरको सेतो रङको मारुती भ्यानमा भन्सार तथा राजस्व छलीका कपडाहरु इटहरी बसपार्कमा जिल्ला प्रहरी कार्यलय सुनसरीले बरामद गरेको थियो । सुर्या ईन्टरप्राईजेज नरदेवी काठमाण्डौको नामको बिलबिजकको ठेली सहित ८ लाख ६५ हजार ७ सय ८० रुपैया मुल्य बराबरको अबैध कपडा राजश्व अनुसन्धान पूर्वाञ्ञल क्षेत्रिय कार्यालय इटहरीमा प्रहरीले बुझाएको थियो । अनुसन्धानको क्रममा घोषको नाम आएपछि राजस्व कार्यालयले व्यापारी घोषलाई पक्राउ गरेको थियो । घोषले एउँटै नम्बरका भ्याट बिल ५ वटा सम्म बनाएको फेला परेको कार्यालयले जनाएको थियो । लामो समय देखि कपडाको कारोबार गर्दै आएका घोषले भन्सार छलि गरि ल्याएको अबैध कपडा पक्राउ परेको थियो । बारम्बार अबैध लत्ताकपडा भित्राउँने घोषले अबैध रुपमा भ्याट समेत छलि समेत गरेको कारण उनलाई पक्राउ गरि राजस्व कार्यालयले अनुसन्धान अगाडी बढाएको थियो । पछिल्लो समयमा कर भ्याट छल्ने व्यापारीलाई निगरानी बढाईएको राजस्व कार्यालयले जनाएको छ ।
घोष पक्राउ परेपछि आवश्यक छानविनको लागि भद्रपुर र काठमाण्डौमा रहेका गोदाममा छापा मारेको थियो । अनुसनधानको अन्तिम टुङ्गो नलागेसम्म शिव स्टोरको कारोबार बन्द गरिएको कार्यालयले जनाएको छ । लामो समय देखि भन्सार छलि ल्याएको सामान बिक्रि गर्ने गरेको उनीमाथी आरोप लागेको छ ।
भद्रपुर छोटी भन्सार तथा सुनसरीको सीमा क्षेत्रबाट उनले अबैध सामाग्री भित्र्याउने गरेको भन्दै प्रहरीले उनी बिरुद्ध निगरानी बढाउन थालेको थियो ।
प्रहरी हिरासतमा रहेका घोषलाई छुटाउन व्यापारी सङ्गठनका प्रमुख,राजनीतिक दल,कारोबारीहरुले आन्तरिक कसरत शुरु गरेपनि सफल हुन सकेको थिएन । घोषले धेरै व्यत्तिलाई विभिन्न समयमा असहयोग गरेका कारण प्रायः उसको पक्षमा मानिस नभएको स्थानीय बताउँछन् ।
घोष पक्राउ परेपछि कारोबारमा संलग्न भारतीय सवारी साधनलाइ भद्रपुर क्षेत्रबाट भारत भगाइएको छ । भारतीय नम्बर उल्लेख गरिएका सवारी साधनमा पनि कारबाही पर्ने डरले उनका सहयोगीले त्यस्ता साधन भारत पठाएको व्यापारीले जनाएका छन् ।