स्थानीयको अवरोधका कारण थुप्रिएको फोहर उठाउन थालियो


धनवीर दाहाल, रुकुम ।
स्थानीयले अवरोध गर्दा मसिकोट नगरपालिकाका बिभिन्न बजार क्षेत्रमा थुप्रिएको फोहर उठाउन थालिएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट स्थित खलंगा, सल्ले र सेरीगाउँ बजारमा अस्तव्यस्त रहेको फोहोर उठाउन सुरु गरिएको हो । मुसीकोट नगरपालिका र वडा नम्बर –२ पानीढुंगाका स्थानीयवासीबीच स्थायी व्यवस्थापनको तयारी गर्न आउँदो असोज मसान्तसम्मका लागि साविककै स्थानमा फाल्न दिने सहमति भएपछि फोहोर उठाउन सुरु गरिएको हो ।

बसपार्क निर्माणका लागि दिएको जग्गामा लामो समयसम्म फोहोर मात्र फालेको भन्दै गत असार मसान्तदेखि मुसीकोट नगरपालिका –२ पानीढुंगाका स्थानीयवासीले त्यस ठाउँमा फोहोर फाल्न अवरोध गरेको थिए । स्थानीयले फोहोर फाल्न रोकेपछि खलंगा बजारका चोकहरुमा फोहोर थुप्रिँदै जाँदा बजार क्षेत्र दुर्गन्धित बनेको थियो । अहिलेलाई उक्त फोहोर व्यवस्थापन गर्न स्थानीय युवाहरुलाई नै परिचालन गरी जिम्मेवारी दिने शर्तमा तीन महिनालाई सहमति भएको स्थानीय नरबहादुर खड्काले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार फोहोर फाल्ने स्थान पानीढुंगामा छरपस्ट भएको फोहोरलाई उचित व्यवस्थापन गर्न स्थानीय रमेश खड्काको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको छ । उक्त समितिले नै स्थानीय स्तरमा त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।
त्यस्तै फोहोरको दीगो व्यवस्थापन र बसपार्कको समस्या समाधानका लागि मुसीकोट नगरपालिकाले वडा नम्बर १० का वडाध्यक्ष गोपेश्वर केसीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरिएको छ । तीन महिनाको कार्यादेश दिएको उक्त कार्यदलले सबै सरोकारवालाहरुसंगको समन्वय र सल्लाह गरी सम्भाव्यता अध्ययन गर्ने बताइएको छ । आफूहरुले समग्र अध्ययन गरेर आफ्नो रायसहितको प्रतिवेदन निर्धारित समयमै नगरपालिकामा पेश गर्न प्रयास गर्ने कार्यदलका संयोजक केसीले बताउनुभयो । यो दुवै जटिल समस्याको दीर्घकालीन समाधानको पाटो भएकोले अलि बढि समय लाग्न पनि सक्ने उहाँको भनाई छ ।