नेपाली भूमिमा सडक निर्माण गर्दै भारत, नेपालीपक्षद्वारा विरोध


हरकसिंह धामी, कञ्चनपुर ।
भारतीय पक्षले फेरी नेपाली भूमिमा सडक निर्माण गर्न लागेको छ । ७ नम्बर प्रदेश कञ्चनपुरको उत्तरी ऐतिहासिक नेपाली भूमिमा भारतीय पक्षले एकलौटी ढङगबाट सडक निर्माण गर्न लागेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेब बजारमै पुग्ने गरि भारतीय पक्षले सडक विस्तार गर्न लागेपछि स्थानीयले त्यसको बिरोध गरेका छन् । भारतीय पक्षले आफ्नै भूमि भएको दावि गर्दैै टनकपुर ब्यारेजदेखि ब्रम्हदेब बजारसम्म झण्डै १३.५० मिटर सडक विस्तार गर्न लागेको स्थानीयले बताएका छन् ।

भारतीय पक्षले आफ्नै भूमि भएको दावि गरेपनि नेपाली पक्षले बाँधको सिँटी अर्थात ३ नम्बर पिलरवारी नेपालकै भूमि भएको दावि गरेका छन् । टनकपुर बाँध निर्माणकै बेला सीमा नम्बर ३ पिलर हराएको थियो । सोही समयम देखि उक्त भूमि विवादित बन्दै आएको नेपाली पक्षको भनाई छ । ब्रम्हदेबका स्थानीय श्याम सिह धामीले कालोपत्रे गर्नका लागि भारतीय पक्षले सडक चौडा गर्न लागेको बताए ।

उनका अनुसार साताअघि देखि भारतीय पक्षले जेसिजी लगाएर साँघुरो सडक फराकिलो गर्न लागेको छ । भारतले टनकपुर बाँधको पुर्व्तिरभागको फेदमै सडक फराकिलो गर्न लागेको छ । स्थानीयले सडक बनाएर थप नेपालीभूमी हडप्नका लागि नेपाली ब्रम्हदेब बजारको पश्चिमतिरको भाग छेउसम्मै सडक ल्याउन लागेको बताएका छन् ।

ब्रम्हदेब बजारको कल्र्भटमा भारतीय पक्षले टिबिएम–३, टिबी डब्लु लेखेर निसाना लगाएका छन् । भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतीय पक्षले एकलौटी ढङले नेपाली भूमिमा सडक विस्तार गरेको बताए । उनका अनुसार सीमा पिल्लर नम्बर ३ देखि यता नेपाली भूमि भएपनि भारतीय पक्षले उक्त विवादित भूमि वरैसम्म सडक विस्तार गरेको छ । ‘कालोपत्रे गर्नका लागि भारतीय पक्षले यसरी एकलौटी ढङगबाट काम गरिरहेको छ, ‘वडाध्यक्ष नाथले भने, ‘मैले यस बारेमा भीमदत्त नगरपालिकाको कार्यपालिका बैठकमा समेत कुरा उठाएको छु, काम अझै रोकिएको छैन् ।’

उक्त सडकको आफुले स्थलगत अनुगमन गरेको बताउदै वडाध्यक्ष नाथले नेपाली पक्षको सहमतीबिनै एकलौटी ढङगबाट भारतीय पक्षबाट भईरहेको संरचना निर्माण रोक्न समेत माग गरेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकाले सडक विस्तारका लागि नेपाली पक्षसंग कुनै सहमती नभएको बताए । प्रमुख जिल्ला अधिकारी खडकाले सीमा सुरक्षा बल मार्फत भारतीय पक्षलाई संयुक्त सीमा सर्वे टोली अनाउन्जेलसम्म काम रोक्न पत्रचार गरेको बताए ।

भारतीय पक्षलाई काम रोक्न पत्रचार गरेपछि सडक निर्माणको काम नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खडकाको दावि छ । स्थानीयले भने नेपाली भूमि हडप्नका लागि भारतीय पक्षले एकलौटी दादागिरी हेपाह प्रवृती शैलीमा गरेको कामको बिरोध गर्दै रोक्न माग गरेका छन् ।