चर्किएका पहाडसंगै बग्दै गरेका गाडी


नेपाल समचारपत्र, हेटौंडा ।
वर्षा शुरु भएपछि मकवानपुरका विभिन्न क्षेत्रमा पानीले वितण्डा मच्चाउने गर्दछ । बाढीपहिरोको जोखिम उच्च भएको जिल्लामध्ये एक हो मकवानपुर ।
हेटौंडामा कर्रा, सामरी र कुखरेनी खोला मिसिएपछि पानीको वहाब निकै बढ्ने गर्दछ । ती सबै पानी मनहरीको राप्ति खोलासम्म पुग्दा सम्हाल्नै नसकिने स्थिति पैदा हुने गर्दछ । हेटौंडाको कुखरेनीमा बाढी आउँदा पूर्वी क्षेत्रमा पानी प¥यो भने सामरी भरिन्छ । उत्तरमा पानी पर्दा राप्तिमा बाढीले त्रासदी मच्चाउँछ । सानाठूला खोला मिसिने राप्तिमा मकवानपुरको जुन क्षेत्रमा पानी प¥यो भने पनि बाढी निश्चित जस्तै देखिन्छ ।
मनहरीको हाँडीखोला त राप्ति खोलाको वहाब बढेपछि वारपार क्षितिजसम्म पुगेझैं देखिन्छ । स्थानीयका लागि अतिआवश्यक वस्तु ओसारपसार गर्न हाँडीखोलामा सवारीका रुपमा ट्याक्टर हुने गरेको छ । तर, हिजोआज ती ट्याक्टरले निकै जोखिम उठाउनुपर्ने अवस्था छ ।
कहीं यति ठूलो जोखिमको अवस्था देखिन्छ भने कहीं दुर्घटना भएको अवस्था छ । भारी वर्षापछिको बाढीले पूर्वी मकवानपुरको फापरबारीमा यात्रुबाहक बसलाई बगाएको छ । हेटौंडाबाट राईगाउँतर्फ जाँदै गरेको ना.५ ख १८१६ नम्बर बस लम्कना खोलाले बगाएको हो ।
यात्रुका लागि स्वयम्ले जोखिम मोलेका चालकले धन्न यात्रुलाई आरोलेर बस तार्ने प्रयास गरेका थिए । खोला बढेपछि बसलाई केही मिटर तलसम्म बगाएर लगेको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ । घटनामा मानवीय क्षति भने भएन ।
मकवानपुरका साबिक १८ गाविस तथा नगर क्षेत्र २०७२ वैशाखको भुकम्पका कारण पहिरोको उच्च जोखिममा परेकोे छ । राईगाउँ, धियाँल, हेटौंडाका वडालगायत खैराङ, डाँडाखर्क, राक्सिराङ गरी १८ गाविसमा पहिरो जोखिममा रहेका हुन् ।
मकवानपुरका १८ गाविसका २९ स्थानका ३ हजार २३ घरधुरी पहिरोको जोखिममा परेको सरकारी तथ्यांक छ । भुकम्पपछि मकवानपुरमा भूक्षय अत्यधिक देखिएका कारण मानवीय दृष्टिले अति जोखिमयुक्त रहेको अध्ययनले देखाएको हो ।
तराईका १० जिल्लामा फैलिएको चुरे क्षेत्रमा तीन हजार चार सय ५६ वटा पहिरो पहिचान गरिएको छ । जसमध्ये मकवानपुरमा अत्यधिक पहिरो भेटिएको त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभागले करिब एक वर्ष लगाएर गरेको अध्ययनबाट देखिएको हो । चुरे क्षेत्र ओगटेको मकवानपुरमा धेरै भूक्षय भएका छन् । मकवानपुरमा मात्र करिब ८ सय पहिरो गएको छ ।
भुकम्पले बिकटका पहाड चर्किएका कारण वर्षामा बग्नसक्ने खतरा रहेको बताइएको छ । अलि ठूलो वर्षा हुनासाथ पहाड बग्नसक्ने प्राविधिक अध्ययनले देखाएको छ । पहाड खस्दा ठूलो मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने देखिन्छ । बस्ती स्थानान्तरण र प्रकोप न्यूनीकरणमा ध्यान पु¥याउनुपर्ने आवश्यकता रहँदा पनि यसतर्फ खासै चासो देखाइएको पाइँदैन ।
चुरे क्षेत्रको भूवनौट नै सुक्खा माटो भएका कारण पानी पर्नासाथ भूक्षयको सम्भावना बढी रहन्छ । मकवानपुरमा साना र ठूला गरी करिब २ हजार पहिरो रहेको जानकारी दिइएको छ । विज्ञहरुले गुगल म्याप, फिल्ड अध्ययन, स्याटेलाइट सर्भे, रिमोट सर्भे, जीआईएस विश्लेषणका आधारमा पहिरो पहिचान गरेका हुन् ।
अध्ययनका क्रममा उनीहरुले १० जिल्लाका १ हजार ४ सय पहिरोको स्थलगत अध्ययन गरेका थिए । अध्ययनले ३ हजार ५ सयमध्ये धेरै पहिरो मझौला छन् । केही पहिरो अत्यधिक ठूला र खतरासमेत रहेको पहिचान गरिएको छ ।
भविष्यमा कुन÷कुन स्थान पहिरोको जोखिममा छन् भन्ने पनि अध्ययन गरिएको छ । अध्ययनले जोखिमयुक्त पहिरो र ठूला पहिरोको तत्काल उपचार आवश्यक पर्ने ठहर गरेको छ ।