बाँके । नेपालगञ्ज शहरलाई सिसि क्यामेराको निगरानीमा राखिएको छ । स्मार्ट सिटीको परिकल्पना गरिरहेको बेलामा सोमबारदेखि नेपालगञ्ज शहरलाई आधुनिक सुरक्षा प्रणालीसँग जोडिएको हो ।
नेपालगञ्जका १६ ठाउँमा ५६ वटा सिसि क्यामेरा राखिएको छ । राँझाचोकदेखि शहरका मुख्य सबै चोकमा सिसि क्यामेरामा राखिएको छ । सिसि क्यामेराको सोमबार जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, मेयर डा. धवल शमशेर राणा, प्रमुख जिल्ला अधिकारी मदन भुजेल र डीआइजी शेरबहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टेकबहादुर तामाङको विशेष पहलमा नेपालगञ्ज बजारमा सिसि क्यामेरा जडान गरिएको हो । २०७४ चैत्र ५ गते जिल्ला प्रहरी कार्यालयमा सिसि क्यामेरासम्बन्धमा छलफल भएको थियो । त्यसपछि नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको संयोजकत्वमा सिसिटिभी व्यवस्थापन समिति गठन गरिएको थियो ।
त्यही २५ सदस्यीय समितिले आर्थिक सहयोग जुटाएर क्यामेरा खरिद गरेको हो । सिसि क्यामेरा खरिदका लागि सहयोग जुटाउने सम्बन्धमा समितिको ६३ औं बैठक बसेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले पाँच लाख, नेपालगञ्ज उद्योग बाणिज्य संघले दुई लाख पचास हजार, खड्का निर्माण सेवाले दुई लाख ३५ जहार, फोरम फर हेल्थले दुई लाखलगायत व्यवसायी तथा प्रतिष्ठानहरुले सिसि क्यामेरा जडानमा सहयोग गरेका छन् । २५ जना सदस्यबाट नै दुई लाख ५२ हजार सय रुपैया संकलन गरिएको थियो ।
सिसिटिभी व्यवस्थापन समितिका कोषाध्यक्ष हर्मेश सोनीका अनुसार, समितिले ४५ लाख ७६ हजार सय रुपैया संकलन गरेको छ । त्यसमध्ये ५६ वटा क्यामेरा खरिद गर्दा ३३ लाख ९७ हजार २ सय ६८ रुपैया खर्च भएको छ । कदरपत्र छपाई, शिलाखे, बैठकमा चियापानमा दुई लाख १० हजार ८ सय ६० रुपैया खर्च भएको छ भने नौ लाख ६७ हजार ९ सय ७२ रुपैया बचत भएको छ । बचत रकम क्यामेराको मर्मतमा खर्च गरिने छ ।
नेपालगञ्ज जडान गरिएको सिसि क्यामेराको १४ किलोमिटरमा नेटवर्क रहेको छ । सिसि क्यामेराको व्यवस्थापन जिल्ला प्रहरी कार्यालयले गर्नेछ ।
जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तव, मेयर डा. राणा, प्रजिअ भुजेल र डीआइजी बस्नेतले सिसि क्यामेरा जडानले अपराधिक घटना न्यूनीकरणमा सघाउ पु¥याउने बताउनुभयो । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष एवं सिसिटिभी व्यवस्थापन समितिका संयोजक नन्दलाल बैश्यले सिसि क्यामेराको जडानले व्यवसायीहरुमा सुरक्षाको वातावरण बनाएको बताउनुभयो । देशमा शान्ति छाउदा नै नेपालगञ्ज औद्योगिक क्षेत्रको जग्गाले उद्योगीलाई नपुगेर नौबस्तामा अर्को औद्योगिक क्षेत्र बन्न थालेको स्मरण गर्दै बैश्यले नेपालगञ्जका अझै तीन सय बढी ठाउँमा सिसि क्यामेरा जडान गर्नुपर्ने धारणा राख्नुभयो ।
राँझाचोक, कारकादोचोक, पुष्पलालचोक, धम्बोझीचोक, वीपीचोक, गणेशमानचोक, त्रिभुवनचोक, बसपार्क, भेरी अञ्चल अस्पतालचोक, शहीद सेतुविकचोकलगायत ठाउँमा सिसि क्यामेरा जडान गरिएको छ । नेपालगञ्जमा यसअघि पनि यी केहीचोकसहित एक दर्जन ठाउँमा सिसि क्यामेरा जडान गरिएपनि भताभुंग भएका थिए ।











प्रतिक्रिया