संसदीय सुनुवाइ समितिको निर्णयलाई स्वागत


काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयलाई स्वागत गरेको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको विज्ञप्तिमा जोशीले विगतमा सम्पादन गरेका विवादित मुद्दाका कारण विसं २०७१ मा सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै आफ्नो पार्टीले विरोध जनाएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “समितिले यसभन्दा अघि औपचारिकताका लागि मात्र सुनुवाइ गर्ने गरेको परम्पराविरुद्ध पहिलो पटक आफ्नो अधिकारको सही प्रयोग गरेको छ ।”

संसदीय समितिको यो निर्णयले संवैधानिक पदका लागि सिफारिश गरिएका व्यक्तिलाई अस्वीकार पनि गर्न सकिने मान्यता स्थापित भएको विज्ञप्तिमा उल्लेख छ ।

अयोग्य र गलत शैक्षिक प्रमाणपत्र पेश गरेर राज्यका महत्वपूर्ण ओहदामा रहेका व्यक्तिलाई न्यायको कठघरामा ल्याउनुपर्छ, विज्ञप्तिमा भनिएको छ, “गलत प्रमाणपत्र पेश गरेर वा राजनीतिक पक्षबाट गलत सिफारिश वा दबाबमा राज्यका महत्वपूर्ण ओहदामा नियुक्त भएका भनी शंका गरिएका व्यक्तिको प्रमाणपत्र वा योग्यता छानबिन गर्नुपर्छ ।”
रासस