सुशासन र विकासमार्फत समृद्धि हासिल हुन्छः प्रधानमन्त्री ओली


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने गन्तव्यलाई पूरा गर्न निष्ठापूर्वक काम गर्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो “गरिबी र पछौटेपनको अन्त्य गर्दै शिक्षा, स्वास्थ्य र पर्यटनको आकर्षण केन्द्रको रुपमा विकास गरी देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ, यसलाई साथ र सहयोग गर्न म सबैसँग आग्रह गर्छु ।”

नेपाल अफ्रो–एशियाली जनएकता संगठनद्वारा आज यहाँ आयोजित ७३ आँै हिरोसिमा स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासमार्फत समृद्धि हासिल गरिने बताउनुभयो । उहाँले भन्नुभयो “युवा उठे मात्र देश बन्छ, युवाले नै देश बनाउन सक्छन् ।”

विश्व शान्ति, सहअस्तित्व, भ्रातृत्व र एकता नै नेपालको विदेश नीति रहेको चर्चा गर्दै उहाँले ‘‘नेपाल सरकार र जनता परमाणु अस्त्ररहित विश्व हुनुपर्छ भन्ने पक्षमा छन्’’ भन्नुभयो । परमाणु अस्त्रको निर्माण, सङ्ग्रह र विस्तार गर्ने कार्यलाई रोक्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले विश्वका जनतालाई निर्धक्क रुपमा बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्नुपर्ने धारणा राख्नुभयो ।

परमाणु अस्त्रलाई बौद्धिक ज्ञान र सम्पत्तिको रुपमा मात्र सीमित राख्न जोड दिँदै उहाँले यसलाई कहीँकतै मानव जातिका विरुद्धमा प्रयोग हुन दिनु हुँदैन, यसमा हामी सचेत बन्नुपर्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले पृथ्वी रहेमात्र मानव जातिको अस्तित्व हुने चर्चा गर्दै एक सेकेण्डमा विश्वका मानवलाई तहसनहस गर्ने शक्ति र सामथ्र्य बोकेका परमाणु अस्त्रलाई अन्त्य गर्नु नै अहिलेको आवश्यकता रहेकामा जोड दिनुुभयो ।

कार्यक्रममा आयोजक संगठनका अध्यक्ष एवं पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ, उपाध्यक्ष एवं पूर्वमन्त्री कृपाशुर शेर्पा र प्राडा विनिल अर्यालले परमाणु अस्त्ररहित देश बनाउने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सन् १९५४ को अगस्ट महिनाको ६ र ९ तारिखमा जापानको हिरोसिमा र नागासाकी शहरमा भएको परमाणु अस्त्र प्रहारबाट करीब दुई लाख ६० हजार जापानीको अकालमा ज्यान गएको थियो ।
रासस