संसदीय पत्रकारिता तालीम शुरु


जनकपुरधाम ।
नेपाली पत्रकारितामा नकारात्मक सामग्रीको प्रकाशन र प्रसारण दिन प्रतिदिन बढ़दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।

मधेशी पत्रकार समाज प्रदेश नं २ ले आजबाट यहाँ शुरु गरिएको ‘संसदीय पत्रकारिता’ विषयक तालीमका अवसरमा सो चिन्ता व्यक्त गरिएको हो ।

खोजपूर्णभन्दा पनि रमाइलो र सजिलो विषयमा पत्रकारिता गर्ने प्रवृत्तिले प्रकाशित सूचनाप्रति उत्साहको सट्टा नैराश्य बोध हुने गरेको सहभागीहरूले धारणा राख्नुभयो । सूचना बहुआयामिक भए पनि स्वार्थ, आस्थाको सेरोफेरोमा केन्द्रित भएका कारण सूचना विश्वसनीय हुने वातावरण नदेखिएकोमा उहाँहरुले जोड दिनुभयो ।

सो अवसरमा प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले संवेदनशीलताको अभावले पत्रकारिताले आवश्कतातर्फ ध्यानाकर्षण गराउनमा पछि परेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

पत्रकार सन्यासी झैँ हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सकारात्मक र सचेतनामूलक पत्रकारिता अहिलेको आवश्यकता हो ।”

प्रदेशसभा सदस्य रामआशीष यादवले अनुहारभन्दा काम र गुणलाई पत्रकारितामा महत्व दिनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले पत्रकारले नैतिकपूर्ण ढङ्गले जीवन निर्वाह गर्ने सन्दर्भमा सबैको सहयोगको आवश्यकतामा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शैलेन्द्र झाले लगनशीलता र सिर्जनशीलता पत्रकारिता आवश्यक रहेको बताउनुभयो ।

नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पत्रकारितामा तथ्य, तथ्याङ्क र गणितका विचारको बहुलतालाई ध्यान दिनुपर्दछ भन्नुभयो ।

समाजका अध्यक्ष वीरेन्द्र रमणको सभापतित्वमा भएको सो समारोहमा नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष अनिल मिश्रले विभेद्पूर्ण मानसिकताको अन्त्य हुने पत्रकारिताको आजको आवश्यकता रहेको बताउनुभयो । तालीम बुधबारसम्म चल्नेछ ।
रासस