युवाक्लबद्वारा घाइते गाईको उद्दार


सीताराम चौधरी, कपिलवस्तु ।
सडक दुर्घटनामा घाइते भई अलपत्र गाईलाई ५ दिनपछि उद्धार गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित मुख्य बजारमा छटपटाइरहेको घाइते गाईलाई राइजिङ स्टार युवा क्लब चन्द्रौटाको टोलीले उद्धार गरेको हो ।

नगरको मुख्य बजारमा मोटर साइकलले ठक्कर दिँदा छाडा गाई घाइते भएको थियो । ५ दिनदेखि सडकमै छटपटाईरहँदा पनि गाईको उपचार र सडक छेउबाट उठाउन समेत कसैले चासो दिएका थिएनन् । पाँच दिनपछि स्थानीय राइजिङ्ग स्टार युवा क्लबको पहलमा सडकबाट उठाएर दुर्गा मन्दिरको भवनमा राखि उपचार शुरु गरिएको क्लबका अध्यक्ष प्रदिप थापाले बताउनुभयो ।

सडकमा छटपटाइरहेको देखेपछि गाईलाई उपचार गरेर बचाउन सकिन्छ भन्ने सोँचले वडा नं. ५ का अध्यक्ष अर्जुन बहादुर पाण्डेको सहकार्यमा क्लबका सदस्य युवाहरुको सहभागितामा सडकबाट उठाई मन्दिर परिसरमा लगि उपचार शुरु गरिएको थापाले बताउनुभयो । घाइते गाई गर्भवती भएको र गाईको गर्भमा रहेको बच्चा मरिसकेकाले बच्चा निकाल्न सके गाईलाई बचाउन सकिने उपचारमा संलग्न पशु चिकित्सकको भनाई छ ।

छाडा चौपायाकै कारण सडक दुर्घटना बढेको स्थानीय बताउँछन् । नगरभित्रका छाडा चौपाया व्यवस्थापन गर्ने जिम्मेवार निकाय नगरपालिका भएपनि नगरपालिकाले समेत यसतर्फ खासै ध्यान नदिएको स्थानीयको आरोप छ ।