बलात्कारको अभियोगमा दुई युवक पक्राउ


धनवीर दाहाल, रुकुम ।
बलात्कार गरेको अभियोगमा आठविसकोट नगरपालिका –९ रुकुम (पश्चिम) का दुई युवकहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोही निवासी २० वर्षीया एक युवतीलाई गत विहीबार राती युवतीको घरमै गई बलात्कार गरेको भन्दै १६ वर्षीय दीपक बुढाथोकी र १७ वर्षीय भीमबहादुर बटालालाई आइतबार पक्राउ गरेको हो ।

पीडित युवतीका श्रीमान् कामका सिलसिलामा काठमाडौँ भएको र २ वर्षीया छोरी भने उनको साथमै रहेको बताईएको छ । पीडित महिलाको जिल्ला अस्पताल सल्लेमा स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएको र घटनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव निरीक्षक (सई) सुरेन्द्र कटुवालले जानकारी दिनुभयो ।
आफूमाथि भएको पीडा खुलाउँदै पीडित महिला स्वयंले इलाका प्रहरी कार्यालय आठविसकोट र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बलात्कारको अभियोगमा पक्राउ परेकाले आत्महत्याको प्रयास गरे
यसैबिच सो अभियोगमा पक्राउ परेका एक किशोरले आत्महत्याको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका दीपक बुढाथोकीले हिरासत भित्रको शौचालयमा आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
उजुरीको आधारमा १८ गते पक्राउ परेका बुढाथोकीले २० गते बेलुकी आफैले लगाएको कमिजले धारामा झुण्डिएर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । अदालतबाट एक हप्ताको म्याद थप गरी ल्याएको केही बेरमा शौचालय पसेका बुढाथोकी ननिस्किएपछि सुरक्षागार्डले आत्महत्याको प्रयास गरिरहेका बेला उद्दार गरेको डीएसपी खड्काले बताउनुभयो ।
बुढाथोकीको हाल नेपालगन्जस्थित कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । बुढाथोकीलाई तत्कालै जिल्ला अस्पताल सल्लेमा लिएर उपचार गरिएको थियो । थप उपचारको लागि जिल्ला बाहिर लैजानुपर्ने भनिएपछि नेपालगन्ज लगिएको प्रहरीले बताएको छ ।