पारिश्रमिकबाट सामुदायिक बिद्यालयका ४४ बिद्यार्थी लाभान्वित
यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले आफूले पाउने पारिश्रमिकबाट नगरका ४४ सामुदायिक बिद्यालयका बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नुभएको छ ।
तिलोत्तमा नगर क्षेत्रमा रहेका ४४ वटा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने गरिव, जेहेन्दार तथा विपन्न परिवारका ४४ जना बिद्यार्थीलाई ‘नगरप्रमुख छात्रबृत्ति’ प्रदान गरिएको हो । सामुदायिक बिद्यालयले आफ्नो बिद्यालयमा अध्ययन गर्ने अति गरिव, जेहेन्दार तथा विपन्न परिवारका सदस्यलाई छनौट गरि वडा कार्यालयको सिफारिसमा नगरपालिकाले उक्त छात्रबृत्ति वितरण गरेको हो ।
सामुदायिक बिद्यालयको शैक्षिक सुधार गर्दै सामुदायिक बिद्यालयमा बिद्यार्थीको आकर्षण बढाउनकालागि नगरप्रमुद घिघिरेले गत आर्थिक वर्षदेखि आफूले पाउने पारिश्रमिकलाई छात्रबृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
सोही कार्यक्रम अन्तरगत आईतबार नगरपालिका कार्यालय परिषरमा आयोजित कार्यक्रममा न्यूनतम जनही ६ हजार देखि १७ हजार रुपैंयाका दरले कुल ३ लाख ८५ हजार रुपैंया छात्रबृत्ति वितरण गरिएको हो । छात्रवृत्ति वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले उप—प्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा एक समिति गठन गरिएको थियो ।
सोही समितिको सिफारिसका आधारमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीलाई ६ हजार, कक्षा ३ र ४ का लागि ७ हजार, ५ र ६ को लागि ८ हजार, ७ र ८ को लागि ९ हजार, कक्षा ९ को लागि ९ हजार ५ सय, कक्षा १० को लागि १० हजार र कक्षा ११ को लागि १७ हजार रूपैयाँ वितरण गरिएको हो ।
यो वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा लिएको तिलोत्तमा नगरपालिकाले आउँदो तीन वर्ष भित्र नगरका सबै सामुदायिक विद्यालयहरूलाई संस्थागत विद्यालयको स्तरमा पुर्याउने लक्ष्य लिएको छ । यहीँ लक्ष्यअनुसार नगरपालिकाले बालविकास कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई दिवा खाजा दिने अभियान सुरू गरेको छ ।
यस्तै कक्षा ५ सम्मका विद्यार्थीलाई घरबाट खाजा ल्याउन टिफिनकारी समेत वितरण गरेको छ ।
छात्रबृत्ति वितरण गर्दै नगरप्रमुख घिमिरेले वितरण गरिएको रकम सम्पन्न परिवारलाई केही नभएपनि जेनतेन बालबालिका बिद्यालय पठाउने अभिभावकलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अवको तीन वर्ष भित्रमा नगरभित्रका सामुदायिक बिद्यालयको स्तर संस्थागत बिद्यालय भन्दा माथि पुर्याउने दावी गर्नुभयो । नगर प्रमुख घिमिरेले आफूले बाँकी चार वर्षको पारिश्रमिक पनि छात्रवृत्तिमैं लगाउने बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा शाखा उपसचिव हरिप्रसाद ज्ञवालीले छात्रबृत्तिका बारेमा जानकारी गराउँदै छात्रबृत्तिको सहि सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।
नगरपालिकाकी उपमेयर जागेश्वरीदेवी चौधरीको अध्यक्षतामा भएको छात्रबृत्ति वितरण कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति हरिलाल पाण्डे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, शान्ति नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक कलुप्रसाद लामिछाने, पत्रकार डायलसन अधिकारी, ईन्दिरा अर्याल, अभिभावक नारायण ज्ञवाली, सुदिप गिरी लगायतले छात्रबृत्ति वितरणले आर्थिक अभावका बिच बिद्यालय पठाउन समस्यामा भएका अभिभावकलाई राहत प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।











प्रतिक्रिया