जलचर संरक्षणमा प्रहरी सक्रियता, अवैध ढंगले माछा मार्नेलाई जरिवाना

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।

स्थानीय जातका माछाको घरको रुपमा खोल्साखोल्सी, खोला र नदीलाई मान्ने गरिन्छ । खोलामा विषादी हाली माछा मार्ने, करेन्ट लगाउने र ब्लाष्ट गर्नेजस्ता अवैधढंगबाट माछा मारिँदा नदी र खोलाका माछाको अस्तित्व खतरामा छ ।

माछा मारेर बिक्री गरी जीवीकोपार्जन गर्ने समुदायलाई लक्षित गर्दै सरकारी निकायले खोलामा छाडेका माछाका भुरा जोगिन सकेनन् । मकवानपुरको छतिवनस्थित सिमात र बकैया खोलामा छाडिएका करिब ५० हजार स्थानीय जातका माछाका भुराले हुर्किने अवसर पाएनन् । स्थानीय सचेत युवाहरुले केही समय रातभर गस्ती गरी माछा जोगाउने प्रयास गरे पनि त्यो निष्प्रभावी बन्दा माछाका भुरा आधा किलोभन्दा बढी तौलका हुन सकेनन् ।

‘हामीले खोलामा कफ्र्यु लगाएजस्तै रातभर गस्ती गर्दा पनि भुराहरु हुर्किन सकेनन्,’ गाउँमा माछा संरक्षणमा जुटेका युवा भन्छन्–हामीले सानोमा माछा नमार्न आग्रह र रोक्ने धेरै प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

स्थानीय अँधेरी र जुइनालगायत क्षेत्रमा माछा मारेर बिक्री गरी परिवार पाल्दै आएका माझी समुदायको पेशा हाल धरासयी बनेको छ । स्थानीयले माछा संरक्षणमा चासो नदेखाउँदै विष हाल्ने, करेन्ट लगाएर मार्ने र बम पड्काएर मार्ने क्रम नरोकिएपछि ५० हजार भुरामध्ये अधिकांश आधा किलोभन्दा बढी तौल बनाउन नपाइ भान्सामा पुगेको गुनासो उनीहरुले गरे ।

माछा संरक्षणका लागि गठित समिति सक्रिय नबन्दा विविध उपाय अपनाएर अवैध तरिकाले माछा मार्नेहरुको संख्या बढ्दै गएकाले माछा जोगाउन नसकिएको उनले बताए । अवैधढंगले माछा मारेका चार जनालाई करिब ४ महिनाअघि हात्तीसुँढे प्रहरीले प्रक्राउ गरी जरिवाना गराएर आइन्दा त्यसो नगर्ने सर्तमा छाडेको थियो ।

पछिल्लो समय फितलो कारबाही र स्थानीयकै निष्क्रियताका कारण माछा जोगाउन हम्मे परेको उनीहरुको भनाइ छ । स्थानीय युवाको अर्को समूहले खोलामा माछा मार्न खुलेको हल्ला गाउँभर फिँजाएपछि हजुरबुबादेखि नातिसम्मकाहरु खोलामा माछा मार्न पुगेको स्मरण गर्दै एक स्थानीय युवाले अवैध कारोबारीले ती दुई खोलाका माछा मारेर ड्रमका ड्रम बिक्री गर्ने गरेकोले यो अवस्था आएको बताए ।

नदी र खोलामा पाइने स्थानीय प्रजातिका माछा संरक्षण गरी माछा मारी जीवीकोपार्जन गर्ने माझी, दनुवार राईजस्ता समुदायको आयआर्जनमा सघाउन मत्स्य विकास केन्द्र हेटौंडाले ५० हजार रहु र नैनी जातका माछाका भुरा खोलामा छाडेको थियो । खोलामा माछाका प्रजातिहरु लोप हुने अवस्थामा गएपछि भुरा छाडिएको थियो ।

स्थानीयलाई खोलामा माछाको महत्व र यसको फाइदाबारे सचेत पारी माछाका भुरा खोलामा छाडिएको हो । माछाको अस्तित्व जोगाउन यहाँका खोलामा माछा खुला छाडिएको त्यो पहिलोपटक थियो ।

खोलामा विषादी हाली माछा मार्ने गलत प्रवृत्ति बढ्दा खोलाका माछाको अस्तित्व नै खतरामा पर्न थालेको र यसैको कारण जाल हाली माछा मार्ने जातिको पेशासमेत संकटमा परेकाले स्थानीय जातको माछा संरक्षणको लागि भुरा छाडिएको थियो ।

छतिवनको कर्मचुली र पावसमा गठित माछा संरक्षण समितिले खोलामा हालिएको उक्त माछाको संरक्षण गर्ने भनिएपनि त्यहाँ छाडिएका माछा तौल नपुग्दै सकिएको छ । माछा हालिएपछि खोलामा विषादी प्रयोग गर्न र ब्लाष्ट गरी माछा मार्न नदिइने कर्मचुली माछा संरक्षण समिति अध्यक्ष कृष्ण माझीले प्रतिवद्धता जनाउनुभएको थियो । तर, त्यसो हुन सकेन ।

स्थानीय माछा संरक्षणमा अब भने प्रहरी सक्रिय बनेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले हेटौंडा–१ स्थित राप्तीखोलामा करेन्ट लगाएर जालसमेत प्रयोग गरी माछा मारिरहेका ५ जनालाई पक्राउ गरी जरिवाना तिराएर छाडेको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दाखिला गरी जलचर संरक्षण ऐन, २०१७ बमोजिम जनही ५ हजारका दरले जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१ बस्ने वर्ष १८ र १९ का अनिल स्याङ्तान, वर्ष २१ का सुन्दर पाख्रिन, वर्ष १४ का अजय बल र वर्ष २७ का बिबेक ब्लोन रहेको प्रहरीले बताएको छ ।