नेपाल समाचारपत्र, काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्व सांसद कमलप्रसाद पंगेनीको शोकमा आज सोमबार केन्द्रिय कार्यालय र देशभरका जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने भएको छ ।
स्व. पंगेनी २०६२ मा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको तर्फबाट स्याङ्जा जिल्लाको सभापति हुनुहुन्थ्यो भने २०६४ मा पार्टी एकीकरण पश्चात उहाँ नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको सहसभापति हुनुहुन्थ्यो । उहाँ पार्टीको १२ औँ महाधिवेशन २०६७ र १३ औँ महाधिवेशन २०७२ देखि हालसम्म निरन्तर स्याङ्जा जिल्लाको सभापति हुनुहुन्थ्यो । काग्रेस सभापति शेरवहादुर देउवाले नेपाली कांग्रेस स्याङ्जाका नेता एवं जिल्ला सभापति पंगेनीको असामयिक निधनबाट नेपाली कांग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुग्न गएको प्रतिक्रिया दिनुभएको छ ।
स्वर्गीय पंगेनी २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट संविधानसभा सदस्यको उम्मेदवार, २०७० को संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वा्चित र २०७४ मा स्याङ्जाको संघीय क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । पंगेनीको हिजो आइतवार विहान हृदयघातबाट निधन भएको थियो । काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए अनुसार उहाको निधनमा शोक मनाउन सम्बन्धित जिल्ला स्याङ्जामा ३ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने निर्णय पनि भएको छ ।
स्वर्गिय पंगेनीको अन्त्येष्ठीमा सहभागी हुन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल लगायतका नेताहरु आइतवार स्याङ्जा गएको प्रवक्ता शर्माले जानकारी दिनुभएको छ ।











प्रतिक्रिया