चौध महिनादेखी हवाई सेवा बन्द


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा विगत चौध महिनादेखी हवाईसेवा बन्द भएको छ । नेपाल वायु सेवा निगमसंग प्रयाप्त मात्रामा जहाज र पाईलट नभएको भन्दै चौरजहारी विमानस्थलको हवाईसेवा बन्द गरिएको हो । गतवर्षको जेठ महिनाको दोस्रो सातादेखी बन्द भएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन । लामो समयदेखी चौरजहारी विमानस्थलमा हवाई सेवा नियमित नहुँदा रुकुम लगायत छिमेकी जिल्ला जाजारकोट, सल्यान र डोल्पाका नागरिकहरु समस्यामा परेका छन् । अनिश्चित समयका लागि बन्द भएको हवाई सेवाका कारण जटिल प्रकृतिका बिरामी, गर्भवती महिला, बालबालिका तथा बृद्धबृद्धाहरु बढि मारमा परेका छन् ।

चौध महिना बितिसक्दा समेत यहाँको हवाई सेवा सुचारु नहुँदा स्थानीयवासीहरु चिन्तित् बन्न थालेका छन् । बन्द हवाई सेवालाई तत्काल सुचारु गर्न सम्बन्धित निकायलाई स्थानीयले अनुरोध समेत गर्दै आईरहेका छन् । यता नेपाल वायु सेवा निगम चौरजहारीका स्ेटशन प्रमुख सुरेन्द्र बहादुर नेपालीले जहाज र जनशक्ति कम भएकाले चौरजहारी विमानस्थलमा हवाईसेवा बन्द भएको बताउनुभयो । अनिश्चित समयका लागि हवाई सेवा बन्द भएकाले तत्काल चौरजहारीमा हवाई सेवा संचाल हुने कुनै जानकारी नभएको नेपालीको भनाई छ ।

नेपालकै दश नमुना शहरको रुपमा विकसित बन्दै गरेको चौरजहारीमा लामो समयदेखी हवाई सेवा बन्द हुनुले स्थानीय जनप्रतिनिधिलाई समेत अन्योलमा पारेको छ । नगरपालिकाको मातहत भित्र हवाई सेवा नपर्ने भएकाले बन्द हवाई सेवालाई सुचारु गर्न जिल्लाका निर्वाचित साँसद, मन्त्री तथा अन्य नेतालाई आग्रह गरिएको नगरपालिकाका प्रमुख विशाल शर्माले बताउनुभयो । तर नियमित हवाई उडानका लागि सो अनुसारको काम र पहल भने कसैबाट हुन नसकेको भन्दै उहाँले दुखेसो व्यक्त गर्नुभयो ।

विगत चौध महिनादेखी बन्द भएको चौरजहारी विमानस्थल २०२८ सालबाट संचालनमा आएको थियो । २०७० सालमा कालोपत्रे मार्फत धावनमार्गको स्तरोन्नती गरिएको चौरजहारी विमानस्थलको हवाई सेवा नियमति नबन्दा हाल धावनमार्ग सुनसान बनेको छ । विमानस्थल सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र कर्मचारी समेत काम बिहिन बनेका छन् ।