स्मार्ट सिटी र शहरी योजना सम्वन्धी कार्यशाला


मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेका ६ वटा नगरपालिकामा शहरी योजना र स्मार्ट सिटी कार्यान्वयन गर्ने सम्वन्धमा एक दिवसिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपालका २४ वटा नगरपालिकामा उक्त कार्यक्रम कार्यान्वयन गरिनेछ ।

फ्रस्ट एण्ड सुलेभान तथा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको आयोजना र नेपाल नगरपालिका संघको समन्वयमा आयोजित कार्यक्रममा जिल्लाका ६ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय प्रमुखहरुको सहभागिता रहेको थियो । धुलिखेल, पनौती, बनेपा, नमोबुद्ध, पाँचखाल र मण्डन देउपुर नगरपालिकालाई स्मार्ट सिटी बनाउन नगरपालिकाहरुको एकीकृत विकास लक्ष्य निर्धारण सम्वन्धी जानकारी गराईएको थियो । नगरपालिका संघका संयोजक अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै भाषणमा मात्रै नभई बजेट विनियोजन र कार्यान्वयनमा समेत ध्यान दिनु पर्ने बताए ।

‘नगरपालिकामा सबै कार्यक्रम र योजनामा स्मार्ट नहुन सक्छ, एउटा कामबाट मात्रै भए पनि स्मार्ट शुरु गरौ’–संयोजक ब्याञ्जुले भने–‘कर प्रणाली, नक्सापास वा अन्य सेवाका बारेमा नागरिकहरुलाई नगरपालिकामा आउनु नपर्ने गरी सुविधा प्रदान गर्नु जरुरी छ ।’ स्मार्ट सिटी बनाउने भन्दा सामाजिक सञ्जालहरुमा ब्यङ्ग हुने गरेको भन्दै संयोजक ब्याञ्जुले स्मार्ट भनेको आजको भोली नै भई हाल्ने भन्दा पनि विस्तारै कार्यक्रमिक रुपमा अगाडी बढाउने र कार्यान्वयन गर्ने विषय भएको बताए ।

कार्यक्रममा स्मार्ट सिटीको परिचय गराउँदै मलेशियाले शहरी विकासमा मारेको फड्कोको बारेमा सिलेन्गरले विवेचना गरेका थिए । नगरपालिकाहरुको एकिकृत विकास लक्ष्इ निर्धारण गरी शहरी योजना तथा स्मार्ट सिटीका विषयमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा कार्यशालामा छलफल भएको थियो ।

उक्त योजनामा नेपाल नगरपालिका संघले खेल्ने भूमिकाका बारेमा संघका कार्यकारी प्रमुख कलानिधी देवकोटाले सुझाव र योजनाका बारेमा बताएका थिए । नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्रोफेसर डा. माधवप्रसाद पोखरेल, कार्यकारी निर्देशक डा. जयकुमार गुरुङ्ग, सहजकर्ता नवराज खतिवडा लगायतले नगरपालिकाहरुमा शुरु गर्न सकिने स्मार्ट सिटीका बारेमा बताएका थिए ।

काठमाडौ, भक्तपुर, ललितपुरमा रहेका १८ वटा नगरपालिका र काभ्रे जिल्लाका ६ वटा नगरपालिकाका कुनै न कुनै काम स्मार्ट बनाउने र त्यहि कामबाट शुरु भएको स्मार्ट अभियान नगरका सबै योजना तथा सेवाहरुमा कार्यान्वयन गराउने मुख्य उदेश्य रहेको छ । धुलिखेल नगरपालिकामा पहिलो पटक सरकारी स्तरबाटै नागरिकहरुको सेवाका लागि मोवाईल एप्स सार्वजनिक गरेको छ ।