विनोद सिंह विष्ट, बैतडी ।
छोरी जन्माएवाफत बैतडीका दोगडाकेदार गाउँपालिकाका २ सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक बर्षको एक बर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहन स्वरुप १/१ हजारका दरले भत्ता पाएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए ।
गत बर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार प्रोत्साहन भत्ता दिन सुरु गरेको थियो । नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप चार सय रुपैया दिदै आएकोमा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप एकहजार रुपैया प्रोत्साहन भत्ता दिन सुरु गरेको हो ।
छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए। हाम्रो समाजमा झौ पनि छोरा र छोरी भनेर विभेद गरिन्छ उहाँले भन्नुभयो“छोराछोरी बीचको विभेद अन्त्य हुने विश्वास लिएका छौं ” छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा समानता कायम गर्नका लागि छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको उनको भनाई रहेको छ ।
दोगडाकेदार गाउँपालकाले छोरी जन्मिदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको स्थानिय कुत्ती भुलले बताए। श्रीकोट स्वास्थ्य चौकीमा मेरो छोरी जन्मिदा थप एकहजार मिल्यो उनले भने “पैसा कमै भएपनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो ।”
जुन छोरा जन्मिदा मात्रै खुसी हुने हाम्रो समाजको लागी गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी भनेर गरिने विभेदमा कमी आउने श्रीकोट स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी ईन्चार्ज तथा अहेब प्रेम बहादुर चन्द बताए । गाउँपालिकाले गरेको यो कार्यले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यलाई पनि खतरा हुदैन । उनले भने“स्वास्थ्य क्षेत्रको विकासका लागी दोगडाकेदार गाउँपालिकाले गरेको यो कार्य निकै स्रहानिय छ ।”
गर्भाअवस्थामै छोरी भए गर्भ फाल्ने तथा भु्रणहत्यामा कमी ल्याउनका लागी गत भदौवाट प्रोत्साहन दिने निर्णण गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। महिलालाई हेर्ने दुष्टिकोण परिवर्तन गर्न यस्तो निर्णय गरिएको हो उनले भने “छोरी जन्माउदा घरमा पनि नकारात्मक सोचले हेर्ने भएकोले यसको परिवर्तन गर्न आवश्यक छ ।”
छोरी जन्मिदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।











प्रतिक्रिया