कालिकोटबाटै केही सिक्ने कि ?


कालिकोट जिल्ला अहिले युवाका लागि नमुना बनेको छ। रोजगारीका लागि दैनिक सयौंको संख्यामा युवा पलायन भइरहेको अवस्थामा पश्चिम पहाडको विकट जिल्ला कालिकोटमा उदाहरणीय काम शुरु भएको छ। युवालाई विदेश पलायन हुनबाट रोक्न कालिकोटको पलाता गाउँपालिकाले नयाँ र प्रशंसायोग्य काम शुरु गरेको छ। गाउँपालिकाले युवालाई विदेश जानबाट रोक्ने मात्र होइन, गाउँमै विदेशको भन्दा राम्रो रोजगारी पनि दिएको छ। युवामैत्री नीति तथा कार्यक्रम बनाएर गाउँपालिकाले युवालाई रोजगारी दिन शुरु गरेको हो।
युवालाई भौतिक पूर्वाधार निर्माणका काममा लगाइएको छ। युवा परिचालनका लागि गाउँपालिकाले युवा कार्यदल गठन गरेको छ। कार्यदलले उपभोक्ता समितिसँग मिलेर काम गर्दछ। गाउँपालिकाले पहिलो चरणमा १ सय युवालाई बेग्लै पोशाक दिएर १ लाख ५० हजार रुपियाँको बीमासहित काममा लगाउने गृहकार्य शुरु गरेको छ। उनीहरू दैनिक ८ घण्टा काम गर्छन्। त्योबापत उनीहरूले ८ सय रुपियाँ पारिश्रमिक पाउँछन्। दैनिक ८ सयका दरले महिनामा २४ हजार युवा कार्यदलका सदस्यको तलब तोकिएको छ।
गाउँपालिकाले गरेको यो उदाहरणीय कामपछि गाउँबाट विदेश जाने युवाको संख्या पनि घटेको छ। विदेशमा पनि खाडी मुलुकमा नेपाली कामदारले पाउने तलब २० देखि २५ हजारको हाराहारीमै छ। आफ्नै घरमा बसेर गाउँको विकास गर्ने त्यहाँका युवालाई योभन्दा राम्रो अवसर अर्को हुनै सक्दैन। पलाता गाउँपालिकाले गरेको यो उदाहरणीय कामलाई देशभर पु¥याउनुपर्छ। युवा पलायन रोक्न सके मात्र देशको विकास सम्भव छ। अहिले नेपाली समाज युवाविहीन बन्दै गएको छ।
युवा विदेश पलायन भएपछि गाउँमा वृद्ध, महिला, बालबालिका र अशक्त मात्र रहेपछि उत्पादन शून्यतर्फ ओरालो लाग्ने र बाध्यात्मक अवस्थामा भएको जनसंख्या पनि गाउँ छोड्नुपर्ने अवस्था छ। यही अवस्थाकै कारण हिमाली र पहाडी क्षेत्रका सयौं गाउँ मानवरहित भइसकेका छन्। मुलुकले यसको दीर्घकालीन असर भोग्नुपर्ने निश्चित छ। काम गर्न सक्ने जति सबै पलायन भएपछि उत्पादन घट्ने र हरेक वर्ष भोकमरीको समस्या युवाविहीनताकै परिणाम हो। सरकारले यस विषयमा कुनै चासो लिएकै छैन। हाम्रा सबैखाले युवालाई पलायन हुनबाट रोक्न सकिएन भने देशको अवस्था अझ भयावह बन्दै जाने कुरालाई नकार्न सकिन्न।
पलाता गाउँपालिकाको उदाहरणीय कदमलाई देशभर पु¥याउन सरकारले तत्कालै कदम चाल्नुपर्छ। हरेक गाउँलाई अहिले पैसाको नभएर जाँगरिला युवाको खाँचो छ, युवा लक्षित अवसरको खाँचो छ। सिंहदरबारदेखि दुर्गम हिमाली क्षेत्रका गाउँमा समेत युवाको आवश्यकता छ। युवालाई परिचालन गरे मात्र देशको विकास हुन्छ र तीव्र समृद्धिको बाटोमा अघि बढ्न सकिन्छ भन्ने कुरालाई सरकार र राजनीतिक दलले बिर्सनुहुन्न।
– प्रेम सुनार, कालिकोट।